सिम्रौनगढ नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत, वडा सचिव तथा कर्मचारी नहुँदा स्थानीय सेवाग्राहीहरूको काम समयमा नहुनुको साथै सेवाबाट वञ्चित समेत हुनुपरेको छ ।
यस नगरपालिकामा ०८० असार २६ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत नभएको र धेरै कर्मचारीहरू भ्रष्टाचारको मुद्दामा परी निलम्बित भएको जानकारी सूचना तथा प्रविधि अधिकृत अर्जुन यादवले दिनु भयो । साथै निलम्बित हुनेहरूमा लेखा अधिकृत सर्वेन्द्र चौधरी, जिन्सी शाखाका कर्मचारी सुरेश प्रसाद यादव, इन्जिनियार सुरेश कुमार यादव, आयुर्वेद स्वास्थ्य शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवाल, इन्जिनियर अजिस कुमार गुप्ता, असिस्टेन्ट सव इन्जिनियर दिनेश कुमार यादव, सव इन्जिनियार उपेन्द्र कुश्वाहा रहेको उहाँले बताउनु भयो ।
यस नगरपालिकामा ११ ओटा वडाहरू रहेकोमा पाँच ओटा वडा कार्यालयहरूमा मात्र स्थायी वडा सचिव रहेका छन् । ती पाँच ओटा वडाका वडा सचिवहरू आलोपालो गरी अन्य वडाहरूको काम समेत गर्दै आइरहेका छन् । वाड नं ८ का वडा सचिव विजय कुमार सिंहले वडा नं ८ र ९ को वडा कार्यालयमा आलोपालो गर्दै कामकाज गरिरहेका छन् । त्यस्तै वाड नं ११ का वडा सचिव पलट पण्डितले वडा नं ४, १० र ११, वडा नं ५ का वडा सचिव राजाराम ठाकुरले वडा नं ५, ६ र ७, वडा नं २ का वडा सचिव उमेश यादवले वडा नं २ र ३ वडा कार्यालयम आलोपालो गरी कामकाज गर्दै आइरहेका छन् र नन्दकिशोर साह तेलीले वाड नं १ को वडा कार्यालयमा काम गरिरहेको वडा नं ८ का वडा सचिव विजय कुमार सिंहले जानकारी दिनु भयो ।
सिम्रौनगढ नगरपालिकाका पाँच जना स्थायी सचिवहरूले नगरपालिका भित्र रहेका ११ ओटा वडा कार्यालयहरूमा आलोपाले गरी काम गर्दै आइरहेकोले स्थानीय सेवग्राहीहरूको कामकाज समयमा नभइ दुःख भोगिरहेको वडा नं ८ का वडा अध्यक्ष रामदिनेश यादवले बताउनु भयो । साथै पाँच ओटा वडा सचिवहरुले ११ ओटै वडा कार्यालयहरूमा आलोपालो गरी काम गर्न कठिन भएकोले हरेक वडामा वडा सचिवको व्यवस्था गरिदिनुहुन नगरपालिकाका प्रमुखसँग पटक पटक आग्रह गरेपनि हालसम्म व्यवस्था गर्न नसकेको अध्यक्ष रामदिनेश यादवले बताउनु भयो ।
सिम्रौनगढ नगरपालिका–१ का ६० वर्षीय रामअज्ञा महतो कोईरीले “जग्गा बिक्री गर्नु पर्ने हुँदा जग्गा नामसारीको सिफारिसको लागि दुई हप्तादेखि वडा कार्यालयमा आइरहेको छु तर वडा कार्यालयमा वडा सचिव नहुँदा सिफारिस र मुचुल्काको काम नभएको” भन्नु भयो । सोही वडाका ६० वर्षीय चन्द्रिका महतोले “खजानी टोलमा मन्दिर बनाउनका लागी १२ लाख रुपियाँमा ठिक्का लिएका थियौं, काम पूरा भएको एक वर्ष बितिसक्यो तर प्रमुख पशासकीय अधिकृत नहुँदा काम बापतको रकम भुक्तानी पाउन सकेका छैनौ” बताउनु भयो । साथै “गाउँका साहु महाजनसँग ऋण काढेर ज्यालादारी मजदुराहरूलाई ज्याला दिएको तर प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक वर्ष २०७९/२०८० को हिसाब किताब फर्स्यौट हुन सकेको छैन र साहुको ऋणको ब्याज ममाथि दिनहु बढीरहेकोले आफ्नो घरजग्गा बिक्री गरी तिर्नु पर्ने अवस्था आएको छ” उहाँले भन्नु भयो ।
सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कल्वारका अनुसार “असार १० गते खुल्ला सत्रमा भइरहेको नगर सभामा केही वडा अध्यक्ष र उपमेयरहरूले विरोध गरे पछि नगर सभा स्थगित भएको थियो । नगर सभा स्थगित भए पछि प्रमुख प्रशासकीय अधिकृत एक हप्ताको लागि बिदा लिइ घर गएको थियो तर, हालसम्म नफर्केको कारण सिम्रौनगढ नगरपालिकाको सम्पूर्ण आर्थिक कारोबार, नगर सभा, कर्मचारी नियुक्ति, अनुगमन, तोक आदेश र सबै कामकाज ठप्प रहेको छ । नयाँ प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति नहुन्जेलसम्म निमित्त प्रशासकीय अधिकृत भएर भोजेन्द्र कुमार चौधरीले सामान्य कामकाजहरू गरिरहेका छन्” । साथै सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरिदिनको लागि सम्बन्धित निकायमा पहल गरिरहेको उहाँले बताउनु भयो ।








