१५ वर्षीया बालिकाको सर्लाही रामनगर गाउँपालिका–२ का ३६ वर्षीय सुरेन्द्र महरासँग भएको बालविवाह साउन ३२ गते बदर हुने फैसला भएको छ ।
जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले विवाह बदर गर्दै आरोपितहरू महरा र बालिकाका ५६ वर्षीय बुबालाई जनही ६ महिना कैद र ५ हजार रुपियाँ जरिवाना गर्ने फैसला गरेको छ । फैसला अनुसार आरोपितहरूले फौजदारी कसुर पीडित राहत कोषमा जनही २ सय रुपियाँ जम्मा गर्नुपर्ने छ । सुरुङ्गा नगरपालिका–४ कनकपुरस्थित शिव मन्दिरमा २०८० वैशाख ७ गते मागी बालविवाह गरेको फेला पारी सुरुङ्गा नगरपालिकाको कार्यालयले बालिकासहित आरोपितहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कडरबोनामा सोही दिन पत्र उजुरी दिएको थियो ।
सुरुङ्गा नगरपालिकाको पत्र उजुरीले बालविवाहका आरोपित महरा, बालिका र बालिकाका बुबालाई प्रहरीले ०८० वैशाख ८ गते गिरफ्तार गरेको थियो । इलाका प्रहरी कार्यालय कडरबोनाले ०८० वैशाख ८ गते बालविवाहको उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतमा ०८० वैशाख २० गते अभियोगपत्र दर्ता भएकोमा जिल्ला न्यायाधीश माधव प्रसाद सुबेदीको ०८० वैशाख २१ गतेको इजलासले आरोपितहरूलाई जनही ३५ हजार रुपियाँ धरौटी लिई पुर्पक्षका लागि तारेखमा रिहा गरेको थियो ।