पत्रकारमाथि श्रृंखलावद्ध आक्रमण, दुर्व्यवहार र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेपछि आन्दोलित बनेका सप्तरीका पत्रकारहरूले साउन २५ गते राजविराजमा विरोध जुलुश सहित, धर्ना र कोण सभा गरेका छन् ।
नेपाल पत्रकार महासंघ कार्यालयबाट निक्लिएको जुलुशले जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर एक घण्टा धर्ना बसेको छ । धर्ना पश्चात आयोजित कोणसभामा महासंघका अध्यक्ष श्रवण कुमार देवले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टीविरुद्ध जारी सूचना क्षमायाचनासहित फिर्ता लिन र पत्रकारमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

धर्नापछि आयोजित कोणसभामा बोल्ने पत्रकारहरूले प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गर्न खोज्नेमाथि कारबाहीको माग समेत गर्नुभयो । स्वतन्त्र रुपमा पत्रकारिता गर्न जिल्लामा असुरक्षा उत्पन्न भएको ठहर गर्दै पत्रकारहरूले थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । महासंघ सप्तरीका सल्लाहकार तथा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलमाथि जिल्ला प्रहरी कार्यालय परिसरमा साउन १५ गते कुटपिट गर्ने दोषीमाथि कारबाही र सुरक्षाको ग्यारेन्टी गर्न पत्रकारहरूले माग गरेका छन् ।
सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीले जारी गरेको सूचनामा कर्मचारीको व्यक्तिगत गोपनियताको हक र कार्यालयको सुरक्षा संवेदनशीलताका कारण अनुमति विना कार्यालय परिसर भित्रको फोटो, भिडिओ, खिचेर सामाजिक सञ्जाल, पत्रपत्रिका, अनलाइनमा राखेमा कानून बमोजिम कारबाही हुने चेतावनी दिइएको छ । सामाजिक सञ्जालहरूमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा भइरहेको वेथिती झल्किने फोटोहरू सार्वजनिक हुन थालेपछि प्रशासन कार्यालयले अनुमति बिना फोटो, भिडियो खिचेमा कारबाही गरिने भनेर साउन २३ गतेको मितिमा साउन २४ गते सार्वजनिक सूचना जारी गरेको हो ।

पत्रकारहरूले प्रेस स्वतन्त्रता कायम गर, सिडिआको उर्दी फिर्ता गर, पत्रकारमाथि आक्रमण गर्ने प्रहरी माथि कारवाही गर लेखएिको व्यानरसहित प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ र सप्तरी शाखाले साउन २५ गते नै विज्ञप्ति जारी गरी कार्यालय परिसरभित्र पत्रकारलाई फोटो, भिडियो खिच्न र मिडियामा प्रकाशन गर्न रोक लगाउनुलाई निन्दनीय भनेको छ । विज्ञप्तिमा नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएपनि त्यसविपरीत प्रशासनले जारी गरेको पछिल्लो सूचना ‘शाहीकालीन उर्दीका रूपमा लिएका छौं ।
जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम गर्न नसकिरहेको आरोप चौतर्फी रुपमा लागिरहेको बेला प्रशासनको यो उर्दीले त्यो आरोपलाई थप उदाङ्गो बनाएको महासंघको निष्कर्ष छ । आन्दोलनपश्चात प्रशासन कार्यालयले उक्त सूचना स्थगन गरी वार्तामा बोलाए पनि पत्रकार महासंघले क्षमायाचनासहित जारी सूचना फिर्ता लिए मात्र वार्ता हुन सक्ने भनेर पत्र पठाएको छ । सहज वातावरण तयार नगरे चरणबद्ध आन्दोलनमा होमिन बाध्य हुने महासंघले चेतावनी दिएको छ।








