कैद भुक्तान गरिरहेका बैतडीकाे दोगदाकेदार गाउँपालिका–५ का २४ वर्षीय शेरे भन्ने सरोज विष्टको २०८० साेमबार सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । विष्ट जिल्ला कारागार कैलालीमा कैद भुक्तान गरिरहेका थिए ।
चोरी गरेको कसूरमा जिल्ला कारागार कैलालीमा कैद भुक्तान गरिरहेका विष्टको साउन ३ गते अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा मृत्यु भएको जिल्ला कारागार, कैलालीका जेलर पदम तिमिल्सिनाले बताए ।
कारागारमा आएपछि चेकजाँच गर्दा क्षयरोगबाट पीडित हुनु भएको देखिएपछि सेती प्रादेशिक अस्पतालको क्षयरोग डट्स डाक्टरको निगरानीमा नियमित चेकजाँच र औषधी खाइरहेको जेलर तिमिल्सिनाको भनाइ छ।
सरोज विष्ट विरुद्ध २०७५ फागुन १९ गते चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दर्ता भएकोमा जिल्ला अदालत, कैलालीले २०७५ चैत ३ गते कसूर ठहर गरी पाँच वर्ष कैद र ५० हजार रुपियाँ जरिवाना भराउने फैसला गरेको थियो ।
शवको पोष्टमार्टम साउन ८ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरी आफन्तको जिम्मा लगाइएको जेलर तिमिल्सिनाले बताए । शव बुझेर साउन ८ गते गोदावरीमा सदगत गरिएको मृतिकका बुवा दामोदर विष्टले बताए ।