रवीन्द्र माकाजू
पोखरा १५
नयाँगाउँ निवासी बुद्धिमान दुरा गुरुङलाई धेरैले लोकगीत, संगीतका ज्ञाता एवं घाटु, सोरठी, कृष्णचरित्र, बाहममासे, अर्घौ राग, तालका ज्ञाता भनेर चिन्दछन् । हुन पनि उनी यस्ता सांस्कृतिक कार्यक्रममा जहाँपनि देखापर्छन् । यसर्थ उनी पोखरामा लोकगीत, संगीतका पर्यायवाजी जस्तै पनि बनेका छन् । उनी नेपाली लोक संगीतका माली हुन् । लम्जुङको दुराडाँडामा वि.सं. २०१४ साल बैशाख ५ गते जन्मिएका बुद्धिमान सानै उमेर (अर्थात् ७ वर्षको उमेर) मा नै घाटुनाच, सोरठी नाच्ने गर्दथे । बाबु टंकबहादुरलाई १३ वर्ष टेक्दाटेक्दै यस धर्तीबाट बिदा गर्नुपरेको दृश्य उनी जीवनमा कहिल्यै बिर्सन सक्दैनन् । उनी सम्झन्छन्– दुराडाँडाको स्कुलमा ६ कक्षामा फी तिर्न नसक्दा आफू स्कुलबाट निस्कनुपरेको पिडाले म अहिले पनि छट्पटिन्छु ।
०३२ सालमा उनलाई लाहुरे हुने रहर जाग्यो । पोखराबाट पक्लिहवा पुगें । त्यसबेला पक्लिहवा क्याम्पमा कमाण्डर थिए कर्णेल जे.पि. क्रस । १७ जनको समुहमा अरू १५ जना छानिए तर बुद्धिमान छानिएनन् । उनको सोझोपन देखेर कर्णेल साहेबले बुद्धिमानलाई ढाडस दिदैं भने– म तिमीलाई धर्मपुत्र बनाएर राख्छु । तिमी मसँग बस ।
त्यसबेला गण्डकी अञ्चलाधीस थिए रामचन्द्र बहादुर सिंह । त्यस्तै नेपाल सरकारका रेक्टर थिए– बहादुर ध्वज राणा । जो त्रिपुरेश्वरमा बस्दथें । कर्णेल साहेब बुद्धिमानलाई लिएर काठमाडौं गए । सबै कुरा सुनेर राणाले बुद्धिमानलाई सम्झाउँदै भने– बुद्धिमान बाबु ! यो कर्णेल साहेबलाई जीवनमा कहिल्यै धोका नदिनु । आत्मीयतापूर्वक कर्णेल साहेबको सेवा गरेर नेपाल र नेपालीको इज्जत राख्नु ।
राणाको यो उपदेशलाई बुद्धिमानले जीवनमा सधैं लागु गरे । एक आदर्श धर्मपुत्रको रूपमा आफूलाई प्रस्तुत गरे । अहिले उनी पोखरा १५ नयाँगाउँमा ९९ वर्षीय कर्णेल जे.पि. क्रसको सेवामा जुटेका छन् । कर्णेल साहेबलाई हरप्रकारका सेवा, सुविधा उपलब्ध गराइरहेका छन् । लाग्छ– बाबुको सेवा र सुख नै उनको एउटै ध्येय हो ।
लोकगीत, संगीतप्रेमी बुद्धिमान दुरा गुरुङ संगीत क्षेत्रमा नै निकै तल्लिन छन् । उनले लम्जुङ ठाडो भाका क्यासेट भाग १–५ निकालेका छन् । सांस्कृतिक कार्यक्रममा आफ्नो कला र गला देखाउन नाच्न सधैं हतारिन्छन् । उनका सीप देखेर मख्ख नपर्ने मान्छे कोही हुँदैनन् । उनी फुर्सदको समयमा समाजसेवामा लागिरहन्छन् । उनले धेरैवर्ष लम्जुङ पोखरा सम्पर्क समितिका अध्यक्ष भए भने उनले नेतृत्व गरेका संस्थाहरुमा दुरा समाज कास्की लगायत थुपै्र छन् । हाल उनी २१ सङ्घसंस्थमा आवद्ध छन् । उनले आफ्ना धर्मपिता जे पि क्रसको नाम फैलाउन लम्जुङ र कास्कीमा ५ विद्यालयमा वर्षेनी आर्थिक सहयोग पनि गर्ने गरेका छन् ।
सरल र सादगी स्वभावका बुद्धिमान सबैसँग हेलमेल गर्ने गर्छन् । उनमा कत्ति पनि अहंकार देखिदैन । अहिले उनको सांस्कृतिक योगदानको सर्वत्र चर्चा परिचर्चा हुन थालेको छ । उनलाई सरस्वती माध्यमिक विद्यालय ठूलो स्वारा लम्जुङले र लम्जुङ समाजबाट सम्मान एवं कदरपत्र प्रदान गरेको छ । यो क्रम बढ्दो छ ।
बुद्धिमानका विवाह ०३६ सालमा भीमसरासँग भएको थियो । यिनीहरुका २ सुपुत्र र ३ सुपुत्री छन् ।
तपाईं दुरा कि गुरुङ ? भन्ने प्रश्नमा आफ्नो पुख्र्यौली इतिहास कोट्याउँदै भने– हाम्रा जिजुबाजेहरू लम्जुङ तखतमा भारदार थिए । लम्जुङ राज्य नरहरि शाहको तखतमा शाहवंश स्थापित भएपछि उनीहरुले दुरा थापा लेखे । जसरी काठमाडौंका मल्ल नेवारहरूले श्रेष्ठ, प्रधान आदि लेखे ।
अङ्गे्रजसँगको युद्धमा भक्ति थापाले ७२ वर्षको उमेरमा विरगति पाएपछि उनको सदगतिमा २१ जना दुरा थापाहरु सहभागी भए तर अङ्गे्रज सरकारले शत्रु भएता पनि भक्ति थापाको यथोचित सम्मान गरे । अङ्गे्रजले फस्ट, सेकेन्ड र थर्ड गोर्खा बटालियन बनाए । त्यस युद्धमा जम्मा भएका ढाल, तरबार, खुँडाहर फर्काइदिए । हाल यी सबै सामग्री लम्जुङको टान्डामकोटको एक मन्दिरमा सुरक्षित रहेको छ ।
बुद्धिमानले भनेर– यिनै दुराथापाहरुले नेपाल फर्कदा आफ्नो नाममा दुरा थापाको साटो गुरुङ लेख्न लागे । वास्तवमा म पनि यथार्थमा दुरा थापा हुँ तर नागरिकतामा लेखेको छु बुद्धिमान गुरुङ ।
घाटु, सोरठी, कृष्णचरित्र, बाहममासे, अर्घौ राग, तालका ज्ञाता ठाडो भाकाका महानायक बुद्धिमान दुरा गुरुङ