मुलुकले बिहीबार बेलुकी नयाँ राष्ट्रपति पाउने भएको छ। पूर्वसभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङमध्ये कुनै एक जना तेस्रो राष्ट्रपति बन्नेछन्।
निर्वाचनमा प्रतिनिधि सभा सदस्य २ सय ७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेश सभा सदस्य ५५० गरी कुल मतदाता संख्या ८८४ हुन्छ। राष्ट्रपति चुनावमा प्रतिनिधि तथा राष्ट्रिय सभा सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ तय गरिएको छ।
संघीय संसदका सदस्यहरुको मतभार २६ हजार ३८६ र प्रदेश सभा सदस्यहरुको २६ हजार ४४० गरी जम्मा मतभार ५२ हजार ७८६ छ। राष्ट्रपतिको चुनाव जित्न कम्तीमा ५० प्रतिशत मतभार ल्याउनै पर्छ।
प्रतिनिधि सभामा ८९ र राष्ट्रिय सभामा १० सिट रहेको सबैभन्दा ठूलो दल कांग्रेसको ७ हजार ८२१ मतभार छ। कांग्रेसका १७५ प्रदेश सभा सदस्यको मतभार ८ हजार ४०० हुन्छ। यसरी कांग्रेसबाट राष्ट्रपति उम्मेदवारलाई खस्ने कुल मतभार १६ हजार २२१ छ।
७८ जना प्रतिनिधि सभा र १५ जना राष्ट्रिय सभा सदस्य रहेको एमालेको ७ हजार ४२६ मतभार छ। १६१ प्रदेश सभा सदस्य जितेकोले त्यसको ७ हजार ७२८ प्रदेश मतभार हुन्छ। एमालेको कुल मतभार १५ हजार १५४ छ।
सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रसँग प्रतिनिधि सभामा ३२, प्रदेश सभामा ८३ र राष्ट्रिय सभामा १५ सांसद छन्। यस आधारमा माओवादी केन्द्रको मतभार ७ हजार ६ सय ९७ हुन्छ।
एकीकृत समाजवादीको २ हजार ५७४, राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५८०, जसपाको २ हजार १४५, राप्रपाको २ हजार ४५० र जनमत पार्टीको १ हजार २४४ मतभार छ। त्यस्तै, स्वतन्त्र सांसदको १ हजार २, लोसपाको ९७१, नागरिक उन्मुक्ति पार्टीको ८१३, राष्ट्रिय जनमोर्चाको २०६ र नेमकिपाको २२३ मतभार छ।