रवीन्द्र माकाजू
पोखरा ।
ग्लोबल कलिजियतका प्राचार्य बाबुराम पन्त पोखरामा एक बौद्धिक व्यक्तित्वका रूपमा चिरपरिचित हुनुहुन्छ । पन्त सरलाई म केवल शिक्षासेवीका रूपमा मात्र हेर्नुभन्दा पनि एक अध्ययनशील, चिन्तक बौद्धिक व्यक्तित्वका रूपमा हेर्नुपर्ने हुन्छ । वास्तवमा उनले प्राप्त गरेका ज्ञान र अनुभव समाजको साझा सम्पति पनि हो भन्दा फरक पर्दैन । पन्त सरले देश विदेशका साहित्य अध्ययन गरेका मात्र होइनन्, त्यसबाट शिक्षा र सन्देश पनि हासिल गरेका छन् । यो स्वयंमा एक उपलब्धि हो । समग्र पोखरेलीका लागि गर्वको विषय पनि हो ।
प्रचार प्रसारमा आउन नचाहने पन्त सरलाई एक सङ्घर्षशील व्यक्तित्वका रूपमा पनि लिन सकिन्छ । वि.सं. २०२३ सालमा मादी गाउँपालिका थुमाकोडाँडामा जन्मिएका पन्त सरले गाउँकै विद्यालयबाट अक्षर चिने । एस.एल.सी परिक्षा भने ०३९ सालमा अमरसिंह मा.वि. रामघाटबाट दिएर पृथ्वीनारायण क्याम्पसबाट एम.एम.सी पास गरे । पोखरामा पनि एम.एम.सी कक्षा चालु हुनुपर्छ भनेर अभियान चलाउने मध्ये बाबुराम सर पनि थिए । पन्त सरले क्याम्पस पढ्दै विद्यालयहरुमा पढाउन थाले । शुरुमा उनले खिलाङ्गको दूधपोखरी मा.वि.मा पढाए । त्यसपछि कालिका माध्यमिक विद्यालय रामबजारमा ३ वर्ष पढाए । ०४७ सालमा राजनैतिक गुटबन्दीको शिकार भए पन्त सर । तर उनको योग्यताको कदर गर्दै गण्डकी बोर्डिङ स्कुलले पन्त सरलाई स्थान दिए । गण्डकी बोर्डिङ स्कुलमा विदेशी व्यवस्थापन थियो । त्यहाँ चाकडी र चाप्लुसी चल्ने गरेको र नेपाली स्वाभिमान हराउँदै गएको दृश्यले पन्त सरको मनमा गहिरो चोट लाग्यो । उनले त्यसबेला सोचे–हामीले हामै्र स्वाभिमानलाई जीवन्त राख्न उच्च गुणस्तरीय विद्यालय खोल्नुपर्छ ।
पन्त सरले केही सरहरू जम्मा गरेर भने– हाम्रो पुँजी भनेको हाम्रा शिक्षणकला र ज्ञान हो । विद्यालय खोल्न ६ जना शिक्षकहरु राजी भए । पोखराको रानीपौवामा ०५२ सालमा ग्लोबल कलिजियत स्कुल शुभारम्भ गरे । शुरुमा पाँच सय बाउन्न जना विद्यार्थी भर्ना भए । पन्त सरलाई प्राचार्य बनाइयो । विद्यालय स्थापना र सञ्चालन गर्न पन्त लगायतका सरले दिलोज्यान लगाए । छात्रछात्रा सन्तुष्ट भए विद्यालयले दिन दुई गुणा रात चौगुणा प्रगति ग¥यो । पन्त सरको विचारमा योग्य शिक्षक र कुशल व्यवस्थापन हुन सक्यो भने शैक्षिक क्षेत्रले फड्को मार्न सक्छ । पन्त सरले विद्यालयले न्यायोचित शुल्क लिने गरेको बताउनुहुन्छ र भन्नुहुन्छ – हरेक विद्यालयले शैक्षिक योजना बनाउनुपर्छ ।
विदेशमा पढ्न जाने प्रवृत्तिलाई रोक्नुभन्दा पनि स्वदेशमा फर्कने वातावरण बनाउन आवश्यक छ भन्दै पन्त भन्दछन् – विदेशमा पलायन हुने रहर कसलाई पो हुन्छ र ? पोखरामा बढ्दो जनसंख्यालाई ध्यानमा राखेर सरकारी स्कुल थपिनुपर्छ यसका लागि आफूले सक्दो सहयोग गर्ने वचन मेयर धनराज आचार्य, पूर्वमेयर मान बहादुर जि.सीलाई दिएको छु । हेरुँ के हुन्छ भन्दै शिक्षासेवी पन्त भन्दछन् – पोखरालाई ४ भागमा बाँडेर न्युनतम मापदण्ड भएका शैक्षिक संस्था बनाइनुपर्छ । यसो भएमा विद्यालयले आफैँ यातायात चलाउनु पर्दैन । अहिले निजी विद्यालयले अनावश्यक रूपमा बस चलाउनु परेको छ । यसले गर्दा महङ्गी र प्रदुषण दुवै बढेको छ ।
वि.सं. ०५३ सालमा शाहिदा शाक्यसँग पे्रमविवाह गरेका शिक्षापे्रमी पन्त सरका सुपुत्र कुन्दन पन्त रोवटीक्समा पि.एच.डी गर्दैछन् अमेरिकामा । पन्त सर चेस, ब्याडमिन्टनका राम्रा खेलाडी हुन् भने उनले प्याब्सनको केन्द्रीय सदस्य, हिसानको जिल्ला अध्यक्ष केन्द्रीय उपाध्यक्ष जस्तो गरिमामय पद निष्ठापूर्वक निभाएका छन् ।
भद्रकाली कलेजको सल्लाहकार र सिनेटर पन्त सर कुनैबेला राजनितीमा सक्रिय थिए । ०४६ सालको आन्दोलनमा रवीन्द्र अधिकारी, झलक सुवेदीसँग जेल परेका थिए । बहुदल आएपछि रिहा भए । उनी विद्यालय प्रशासनलाई मायाले होइन, न्यायले चल्नुपर्छ भन्ने मान्यता बोक्छन् । शैक्षिकक्षेत्रमा शिक्षाविद् आउने हो, व्यापारी आउने होइन ।
बाँकी जीवन मानवसेवामा समर्पित गर्ने सोचमा छन् पन्त सर । शान्त सुखाय प्रतिष्ठानमा आवद्ध बाबुराम सर छात्रछात्रालाई स्नेहपूर्वक काउनसिलिङ्ग गर्छन् । त्यसैले छात्रछात्राहरुबाट अपार माया पाएका छन् । युरोप लगायत चीन, मलेसिया, थाइलैण्डको भ्रमण गरिसकेका पन्त सर भन्दछन् – विद्यालयले घर घर गई विद्यार्थी माग्न जाने होइन, किनकी विद्यालय भनेको सरस्वतीको मन्दिर हो जहाँ भक्तजनहरु श्रद्धापूर्वक ज्ञान हाँसिल गर्न आइरहुन् ।







