रवीन्द्र माकाजु
पोखरा ।
पोखरा–८, बगालेटोल निवासी ९५ वर्षीय वीरेन्द्रकुमार बाटाजू कास्की जिल्लाबाट एस.एल.सी. पास गर्ने पहिलो व्यक्ति मात्र होइनन् विश्वब्रह्माण्ड घुम्न पाएका पहिलो पोखरेली भाग्यमानी व्यक्ति हुन् जस्तो लाग्छ ।
बाटाजूले आफ्ना ती पुराना दिन सम्झँदै भने– २०२४ सालतिर हो म पोखराको हवाइ स्टेशनमा कार्यरत थिएँ । एयर फ्रान्सको रिजनल म्यानेजर रवर्ट रिफिल आफ्ना धर्मपत्नी सहित पोखरा घुम्न आएका रहेछन् । उनी अन्नपूर्ण बेसकयाम्प र पोखरा घुम्न चाहन्थे । मसँग रिफिलले मनको इच्छा पोखे । मैले हार्दिकतापूर्वक उनलाई सहयोग गर्ने ध्येयले २ जना सहयोगी पठाइदिएँ । उनलाई यस यात्राले अपार खुसी दियो । हप्ता दिनको यात्रा सकेर मलाई धन्यवाद दिन आए । मेरो नाम, ठेगाना, दर्जा सबै टिपे । मलाई दिल्ली आउँदा जसरी भए पनि भेट्नु भने ।
यसै बीच हवाई कार्यालयको तर्फबाट मलाई ट्रेनिङ लिनका लागि बेलायत पठाउने निर्णय भयो । बेलायत जाने क्रममा दिल्लीमा मैले रवर्ट रिफिललाई भेट्ने अवसर पाएँ । उनले मलाई एअर फ्रान्सबाट लण्डन जाने सुझाव दिए । साथै ट्रनिङ पछि कुन कुन देश घुम्ने इच्छा छ भनेर सोधे । साथै मेरो नाउँमा जो जे सँग सम्बन्धित छ भन्ने व्यहोराको पत्र लेखिदिए ।
बाटाजूले थपे– एक महिनाको कोर्स पुरा गरेपछि मैले पुनः रिफिललाई दिल्लीमा सम्पर्क गरेँ । उनले एअरपोर्ट टेक्स बाहेक अन्य शुल्क तिर्न नपर्ने गरी सुविधा सम्पन्न फस्ट क्लासको टिकट एयर फ्रान्सको तर्mबाट मिलाई दिए । त्यसपछि म एक हप्ताको लागि अमेरिका घुम्न पुग्छु । लगत्तै म एकहप्ते जापानको भ्रमणमा निस्कन्छु । दिल्ली आइपुगेपछि रिफिललाई भेटेर यस शुभअवसरका लागि कृतज्ञता व्यक्त गरेँ । यो मेरो लागि सुवर्ण अवसर थियो ।
कास्की जिल्लाबाट पहिलो पटक एसएलसी पास गर्ने भाग्यमानी व्यक्ति बाटाजूले ती अतितका कथा सुनाउँदै भने– मेरो सामान्य पढाइ विन्ध्यवासिनी भाषा संस्कृत पाठशालामा भएको हो । मलाई म सोमनाथ रेग्मी, शिवकुमार रेग्मी आदिले प्रारम्भिक शिक्षा दिएका थिए । अङ्ग्रेजी शिक्षा तर्फ तत्कालीन वडाहाकिम धनसमशेर राणाका असिस्टेन्ट सुब्बा रामप्रसाद भद्रासँग पढेको हूँ । त्यस बेला पोखरामा आधुनिक विद्यालय थिएन । परिवारले मेरो पढ्ने रहर पूरा गर्नका लागि मलाई २००३ सालमा तानसेनको पद्योदय हाइस्कुलमा भना गरिदिए । मैले २००४ सालमा पथप्रदर्शक भन्ने हस्तलिखित पत्रिकामा पूलबारी पोखरा भन्ने शीर्षकमा लेख लेखेको थिएँ । २००५ सालतिर हो मलाई एक दिन अङ्ग्रेजीका शिक्षक इन्द्रलाल भारतीले भने– वीरेन्द्र बाबु तिम्रो पोखरामा आधुनिक विद्यालय छैन । डिभिजनल शिक्षा इन्सेपेक्टर राम सिंह ठकुरी पश्चिम नेपालको भ्रमण गर्दै पोखरा पनि जाँदैछन् । यदि यस्तै विद्यालय पोखरामा पनि खोल्ने हो भने ४०।५० जना भद्रभलाद्मीको सही गरेर विद्यालय माग गर्दा राम्रो हुन्छ ।
मलाई यस कुराले हौसायो, मैले रामसिंह ठकुरीसँग गई तपाईंसँग म पनि पोखरा जान्छु भनेँ । हामी साउन महिनामा पोखरा आयौँ । पोखरा आई स्थानीय साहु महाजन सबै गरी १८४ जनाको हस्ताक्षर सहितको निवेदन ठकुरीको हातमा राखियो । ठकुरी मेरै घरमा काम बसेका थिए । यिनै प्रक्रिया टेकेर पोखरामा २००६ साल मार्ग २० गते पोखरा पब्लिक स्कुलको विधिवत स्थापना भयो । जुन अहिले राष्ट्रिय मा.वि. पोखरा टुडिखेल भनेर चिनिन्छ ।
मैले २००८ सालमा एसएलसी पास गरेँ । त्यस बेला एसएलसी पास गर्नेको नाम नेपाल गजेटमा प्रकाशित हुन्थ्यो । मैले पनि त्यही विद्यालयमा कार्यबाहक हेडसर भएर सेवा गर्ने मौका पाएँ । २००९ सालमा यो विद्यालयले हाइ स्कुलको रूप लियो र एसएलसी दिने विद्यार्थीहरू तयार भए । यहाँबाट एसएलसी दिनेहरू बढे पछि २०१७ भाद्र १७ गते विधिवत पृथ्वीनारायण कलेजको स्थापना हुन गयो ।
वि.सं. १९८५ साल वैशाखको अक्षय तुतीयामा जन्मेका वीरेन्द्र कुमरा बाटाजूको अहिले पनि पत्रपत्रिका पढ्ने बानी छ । गणेश गुठी सेवा समितिका अध्क्ष बाटाजूले आफ्नो ८४ पूजाको अवसरमा रु. पाँच लाखको अक्षयकोष राखिदिएका छन् । जस्को व्याजबाट स्वामी ज्ञानानन्द महाराज र पाल्पाको भगवती जात्रा गुठी वीरेन्द्र पुरस्कारबाट पुरस्कृत भएका छन् । साथै उनले आदर्श नि.मा.वि. को शैक्षिक उन्नयनका लागि दुई लाखको अक्षयकोष राखिदिएका छन् । उनको नेतृत्वमा गणेश गुठीको विशाल भवन बनेको छ । धर्म, संस्कृति प्रति ्झुकाव राख्ने बाटाजूलाई धेरै सङ्घ संस्थाले सम्मान गर्दै आएका छन् र यो क्रममा अझै रोकिएको छैन ।
रवीन्द्र माकाजु वाल बाट जस्ताको तस्तै साभार