अभियान हाम्रो डट कम
“
कि आफै जान्नु
कि भनेको मान्नु
मुखमुखै नलाग्नु
बाहिर फेर नडुल्नु
पर पुरुष नहेर्नु
घरको कुरा नखोल्नु
बाहिर हाँसेर हिंड्नु
दुख सबै लुकाउनु
घर गरेर खानु
माइतिको इज्जत राख्नु।
तिर्थ व्रत गर्नु
सिक्री कल्ली लगाउनु
चुरा र पोतेमा सजिनु
माइतमा पिताको
वैंसमा पतिको
पति नभए पुत्रको
संधै अधिनमा रहनु
इष्ट मित्र रिझाउनु
उत्ताउली भइ नहिड्नु
कुर्कुचा छोप्ने लगाउनु
किनकी
तिमी घरकी इज्जत हौ!
घरको जिम्मेवारी नारीकोहो
पुरुष त बारको घोचाहो
कहिलेकसो खान सक्छ
बाहिरफेर जान सक्छ
चियो चर्चा नगर्नु
कु कृत्य देखे नबोल्नु
सपना सम्झी बिर्सनु
मर्दको बाह्रओटी
भाग्य संझी मन बुझाउनु
तिमी एक नारी हौ
पौंठे जोरि नखोज्नु
हामिले हो
बन्धन बाट छाडिदिएको
सति प्रथा बाट मुक्त गरिदिएको
ठूलो कुरा नगर्नु
कामले होइन खानले दुखहो
हाम्रो सन्तुष्टि नै तिम्रो सुख हो
तिमी आजकल
अराजक बन्दै छ्यौ
नकटीहरुको पक्ष लिंदैछ्यौ
बाबू समानको मान्छेलाइ
दाजु/भाइ जस्तोलाई
छोरा भतिज जस्तालाइ
कहिले चर्चित शेलिब्रेटी
कहिले जन प्रतिनिधि
कहिले आफ्नै शिक्षकलाई
कहिले कानुनी रक्षकलाइ
कहिले धार्मिक गुरुलाइ
कहिले ठुल्ला जातिलाई
कहिले आफ्नै पतिलाई
बलात्कारको आरोप लगाउँछ्यौ
कहिले अन्यायमा पर्यो भन्छ्यौ
कहिले बलाकारी छुट्यो भन्छौ
कहिले लैंगिक हिंसा अरे
कहिले घरेलु हिंसा अरे
त्यस्तो कहिं हुन्छर?
शान्ति र सुशीलाहरु
आरती र ममताहरु
त्यस्तो वहकाउमा नलाग्नु
असैह्य भए मर्नु
तर बिद्रोह नगर्नु
तिमी कति राम्री छौ
तिमी त घरकी इज्जत हौ
बिकास लुङ्गेली
०७९/१०/२१ पोखरा