सिन्धुलीको सुनकोशी गडतीर क्षेत्र बारीका कान्लामा यतिखेर आँटी (सरिफा) आँटी लटरम्म फलेका छन् । अहिले त्याहाका किसान आँटी(सरिफा) बिक्री गर्न बीपी राजमार्ग अन्तर्गत सुनकोसी गाँउपालिकाको बोहोरेटारमा धाई रहेका छन ।“बिचौलियाबाट बच्न हामी आफ्नो उत्पादन आफैं बेच्छौं,” राजमार्गको छेउमा आँटी बेच्दै गर्नु भएका सुनकोशी गाउँपालिका–४ लखनपुरका किसान शान्ता श्रेष्ठलेभन्नुभयो,आफैले सरिफा बिक्रि गर्दा बीचौलियालाई दिदा भन्दा चार गुणासम्म कमाई भएको छ ।”
बोटमा नै किन्न पुग्ने व्यापारी (बिचौलिया)ले राम्रो मूल्य नदिने भएपछि तीन बर्षदेखि आफै बेच्न आउने गरेको उहाँले बताउनुभयो । “व्यापारी बोटमा नै पुग्छन्, सरिफा किन्न,’ किसान श्रेष्ठले भन्नुभयो, “व्यापारीले प्रतिकिलो ४०÷५० रुपैयाँभन्दा बढी दिदैनन्, आफ्नो उत्पादन आफै बेच्दा
प्रतिकिलो १५० देखि १६० रुपैयाँसम्ममा विक्री हुन्छ ।”
वर्षौंसम्म मिहिनेत नगरी नै फल्ने सरिफाको पछिल्लो समय बजारमा माग पनि बढेको उहाँले सुनाउनुभयो । मल, विषादी प्रयोग गर्नु नपर्ने र आफै उम्रिएको अर्गानीक फल सरिफा बेचेर सिजनमा एक दिनमै छ हजारदेखि दश हजारसम्म आम्दानी लिने गरेको उहाँको भनाई छ ।
वीपी राजमार्गसंगै भित्रि सडकहरु विस्तार भएपछि पहिले जस्तो किसानका उत्पादनले बजार नपाउने समस्या नरहेको स्थानीय बताउछन् । आँटीले अघिल्ला बर्षहरुमा भन्दा अहिले भाउ पाएकाले किसानको आम्दानी बढेको सुनकोशी गाउँपालिका–४ लखनपुर निवासी ईन्द्रबहादुर मगरले बताउनुभयो । “विगतका बर्षमा खाएको खायो, नखाईसकेको
कुहिएर सकिन्थ्यो”, उहाँले भन्नुभयो, “पहिला त्यत्तिकै खेर जाने आटीबाट अहिले राम्रो कमाई हुन थालेको छ ।”सुनकोसीगाँउपालिका–६ सित्तलपाटी चैनपुरका बिरबहादुर सार्की चार वर्षदेखि आफुले पनि प्रत्येक वर्ष सिजनमा आँटी बिक्री गरि २५ हजार रुपैयासम्म आम्दानी गर्दै आएको बताउनुहुन्छ । “केही बर्ष पहिलेसम्म आफैंले ढाकर, डोकोमा बोकेर सिन्धुली सदरमुकाम पुर्याउन पथ्र्यो, त्यो बेला एक ढाकर आँटीाबाट दुई हजार पनि आम्दानी हुदैन थियो” उहाँले भन्नुभयो, ”अहिले त फल्न मात्र पर्यो, बजारको समस्या छैन ।”
यतिबेला बोहोरेटारमा सरिफाको बजार नै लागेको छ । यहाँ प्रत्येक बर्ष साउन देखि कात्तिकसम्म किसानहरु आँटी विक्री गर्न आउँछन् । आटीँको उत्पादन सुनकोशी गड्तीर क्षेत्रमा हुन्छ । यस क्षेत्रका किसान पछिल्लो समय आँटीले राम्रो बजार पाउन थालेपछि खुशी छन् । कम लगानीमा उत्पादन हुने फल सरिफाबाट राम्रो आम्दानी हुन थालेपछि सुनकोशीका झण्डै पाँच सय बढी किसानहरुको जीवनस्तर फेरिएको स्थानीयको भनाई पाईन्छ ।
सुनकोशी गाउँपालिका प्रमुख दिपा बोहोरा दाहालले सरिफाले बजार राम्रो पाउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “आँटीले बजार त पायो, तर यसको उत्पादन कम हुदै गएको छ ।” उहाँका अनुसार दल राखेर अहिलेसम्म पनि यहाँका किसानले सरिफाको बिरुवा उमारेका छैनन् । कम लगानी र मेहनत विना नै यो आफै उम्रिन्छ र फल्छ । यसको व्यवसायिक उत्पादनका लागि किसान लाग्नु पर्ने र यसका लागि किसानलाई सहयोग गर्न आफ्नो पालिका लाग्ने उहाँले बताउनुभयो ।





साभार तस्बिर सहित www.krishipress.com 
