प्रिय साईला
आराम रहि आरामताको कामना गर्दै यो झरिमाझ तिम्रो सम्झनाको प्रतीक पत्र लेख्दै छु बिस्वास छ तिमिले स्विकार्ने छ।
साईला जब अरेबियन सागरको जलवास्पिकरन हावा भारतको उडिसा,केरला,बिहारको आकाश हुँदै मेरो बस्तीसम्मको उडान भरी बर्साद ऋतुमा झरी बोकेर आइपुग्छ तब त्यो संगै मिसिएर तिम्रो यादहरु पनि म सामु आइपुग्छ।कुना,कन्दराहरुमा हप्तौ बर्सिएको झरिले हाम्रो शरिरको अंग अंग रुझाउदै झरिएका थोपाहरुले सिन्चिएको माटोमा ” मानो रोपि मुरि उब्जाउने ” पर्वमा गृष्मयाममा तयारी गरेको एक हातमा बीउ,अर्को हातमा कोदाली,शिरमा बर्सादी संगै हाम्रो परिचय हुने गर्थ्यो तिमी बाउसे साईला र म रोपार साईली।रिमझिम बर्षा,हातमा कोदाली,शिरमा प्लास्टिकको बर्सादी,पाउमा हात्तिछाप चप्पल,कोदाको रोटीमा नुनखुर्सानिको चट्नी,डोकोको पिँधमा राखेको प्वाङ्गको छ्याङमा त्यो पारी पाखामा पलाएको जरुवाको कुलो हुँदै आएको पानीको मिश्रणमा उतिसको हाँगाले फिर्के मारेर तामाको डबकामा खनाएसी बनेको त्यो तिम्रो पहिचान थियो ” बाउसे साईला “।हो साईला त्यो बर्सादको मेला भरी पाँच-पाँच जना रोपारलाई मेलो बनाएर पछि लगाउन सक्ने आँटिलो,बलियो बाउसेको रुपमा टोल,छिमेक,मेलामा तिम्रो चर्चा चलिरहद मलाई भने उल्का डह लाग्थ्यो तिमी प्रती कि म सधै तिम्रो रोपार बन्न पाए हुन्थ्यो भनी।
अरु किसानहरु तिमिलाई बाउसे बनाएर खेती उतार्न हनाथाप गरिरहन्थ्यो तर म भने तिम्री रोपार बन्न हनाथाप गरिरहन्थे। बिस्तारै आधुनिकताको फेरोले विश्व,समाज,ब्यक्तिलाई लपेटिए संङै जुन दिन तिमी एक रहर बोकि याम्बु पस्यो त्यही दिन देखि आफ्नो पहिचान गुमाएको थियो साईला तिमिले।हुन त बेला बखत बिसौनिको चौतारीमा झरिमाझ बिग्रेका मेरा भारी सम्हादिदै गर्दा डोकाको काँप्रामा चुट्टिएका मेरा चप्पल देखेर भन्ने गर्थ्यो यदि म याम्बु गए भने तिम्रो लागि सिको फाइब घडी लाईदिन्छु जुन घडी हेरेर तिमि मेला जान सकुन,कहिल्यै नचुटिने जाली चप्पल ल्यादिन्छु कि तिम्रो पाउ कहिले नांगो नहोउन तर रहर बोकाई तिमिलाइ याम्बु पसाएका र रहर बोकाउन गाउँ पसेका आधुनिकताले मेरो हातमा सिको फाइब घडी ल्याईदियो,पाउमा दर्जनौ थरिका जाली चप्पल ल्याइदियो तर तिमिलाई भने कहिल्यै ल्याइदिएन।
तिमिले जहाँ छोड्यौ त्यहिनै छु जस्तो छोड्यौ उस्तैनै छु बरु याम्बु पसेका तिमिलाई कस्तो होला भनी यो झरिमा बेजोड सम्झिन्छु।नसम्झिउ पनि कसरी?उस्तै छ लेकबेसी गर्दाको बिसाउनी चौतारी,उसैगरी फलिरहन्छ गहिरी पाटाको डिलमा आरु,त्यसै गरि पाकिरहन्छ पाराङ्ग दाईको बारिमा नेमारो,त्यस्तैगरि उम्रीरहन्छ च्याङबाको खरबारिमा गोठे च्याउ,आरु र नेमारोको स्वाद उहीँ छ,बिसौनिको लाकुरिमा झरी पर्दा चलेको बतासको सुस्केरा तिनै छ बरु रहरमा फेरियो कि बाद्यतामा फेरियो याम्बु सङ्गै तिमिले पहिचान फेरियो तिम्रो पहिचान सङ्गै यता मैले तिम्रो पर्खाइ प्रतिको आशा फेरियो।खोइ साईला यो समय बेइमान हो कि मान्छेको मन?तिमी बाउसे हुदा ताका त घरवरिपरी मकैको झुन्ड,चोटा भरी धान,कोदो,फापार,जहुँ,गहुँ,तोरि,गहुँको बोरा,बट्टाहरुमा सिन्की,चना,मस्यौरा,गोठभरी गाईभैंसी,बाख्रा,खोरभरी कुखुरा,हाँस,परेवा हुदा पनि केही छैन झै लाग्थ्यो ।
अहिले यो आधुनिकताको हावा फेर्न थालेपछी दुइहजारको एक बोरा चामाल र चालीस रुपैयाँको एक मुठा बोडीले पनि अरु भन्दा के कम भन्ने प्रतिस्पर्धाको दौडमा दौडिदोरहेछ र त तिमी हुदा ताकाको रौनक आजकाल छैन। बिसौनिहरु सुनसान छ,जरुवाको पानी हिड्ने कुलाहरु बनमाराले पुरिएको छ,ताइचिन झुल्ने खेतहरुमा उन्युँ उम्रेको छ,रातो,सेतो,डल्ले कोदा फल्ने पाटाहरुमा एँसेलु,चुत्रो झाँगिएको छ।आधुनिकता सङ्गै गाउँ पसेका डिजेल,पेट्रोलका डफ्फाहरुले जेठा,माईला,माईली च्याङ्बाहरुलाई कता लान्छ,जान्छ र कता पुर्याउछन कुन्नी?बाकि रहेका म जस्तै साईली र उ जस्तै कान्छाहरु कोहि रोपार बिना दौडिरहेकोछन भने कोहि बिना बाउसे भौतारीरहेको हुन्छन यति भनम जसोतसो आफ्नो बिरासत धानिरहेकैछन। सुन्छु खबर तिम्रो याम्बुमा झरी पर्दा गगनचुम्बी महलहरुमा बाढी पस्छरे,कंक्रीटयुक्त बाटोहरुमा भेल बग्छरे तर तिम्रो याम्बुमा त बिद्वानहरु जन्माउने बिस्वबिद्यालयहरु हुन्छनरे के तिनिहरुले खोलामा बस्ती पसेको होकि बस्तिमा खोला,कंक्रीतले जमिन मुनिजाने पानीको बाटो छेकाएको होकि पानीले कंक्रीटलाई मोटोमा मिलाएको हो यो छुट्टाउन सक्ने हैसेत तिनले राख्दैनन र?यता मेरो बस्तिमानि हेरन साईला सुबिधा जनक आधुनिकताको सुँडले सुन्दर पहाडहरुमा खुँदेर,ठुँगेर बनाएका पागल आईमाईको असरल्ला पटुका झै प्रकृतिमैत्री,भुगोलमैत्री अनि दिगो बिकास मैत्रीबिहिन बाटाहरुका कारण पहाड चोइटिएर नदि पस्छन,बस्ती छुट्टीएर पहिरो बन्छन अनि त्यो माटो नदिमा मिसिएर हजारौ माछाको गिल्समा पस्छन र मृत्युबरन गर्छन।सायद प्राणीहरु मद्य्य सर्बउत्कृष्ट प्राणी मानिस भएर हो कि आफ्नो स्वार्थिको निम्ति यत्रो अन्याय प्राणी र प्रकृतिमाथी? त्यसैले त साईला पाका मान्छेहरुले भन्दारहेछन ” मानिसको चेतना प्रमानपत्रले मापन गर्न सकिदैन ” भनेर।
तर साईला हाम्रो पहिलो पुस्ता नफर्के पनि दोस्रो र तेस्रो पुस्ता अबश्य फर्किनेछ गाउँबस्तिमा यो समयको माग र अपरिहार्यता हुनेछ । आधुनिकता सङ्गै प्राकृतिक स्रोत,साधनको सम्मान गर्दै मानबिय आबश्यकतामा प्रबिधिको सहजतासंगै फर्किनेछ जहाँ तिमी र मैले थकाई बिसाएको चौतारिहरु भेट्ने छ,हामिले खाएका आरु,नेमारोको बिउहरु उम्रेका बिरुवाहरु हुनेछ ,फेरि त्यस्तै धान कोदोको बिउहरु हातहातमा हुनेछ र बर्सादम मानो रोपि मुरि उब्जाएका अनाजले विश्व बजार पाउनेछ। तब तिमी र म झै रहर र बाद्य्याताको दोबाटोले छुट्टाएको रोपार र बाउसे झै ती रोपार र बाउसेहरु कहिलै छुट्टिनु पर्ने छैन त्यसैले तिमी पनि सुनाउने गर म पनि सुनाउछु आफ्ना पुस्तालाई बर्सादको झरी सङ्गै सुरु भएका “बाउसे साइला र रोपार साईलिका” प्रेम कहानी जुन तिनिहरुका लागि बाउसे र रोपार बनिराख्न प्रेरणाका स्रोत हुनेछ।
उहि तिम्रो रोपार साईली
लक्ष्मी तामाङ
सर्लाही लालबन्दी








