
काठमाडौं। हलिउड फिल्म ‘पाइरेट्स अफ द क्यारेबियन’का अभिनेता टामायो पेरीको शार्कको आक्रमणमा परी निधन भएको छ। हवाईमा सर्फिङ गर्ने क्रममा शार्कको आक्रमणमा परी ४९ वर्षीय पेरीको आइतबार दिउँसो निधन भएको हो।
होनोलुलु आपतकालीन सेवाले पत्रकार सम्मेलन गरी पेरीको निधनको खबर पुष्टि गरेको छ। मलेइकहाना बीचमा सर्फिङ गर्दै गर्दा उनलाई शार्कले आक्रमण गरेको थियो। लाइफगार्डले उनलाई जेट स्कीद्वारा किनारमा ल्याएपछि प्यारामेडिकहरूले मृत घोषित गरेका थिए।
पेरीले ‘पाइरेट्स अफ द क्यारेबियन: अन स्ट्रेन्जर टाइड्स’ फिल्ममा बुकेनियरको भूमिका निभाएका थिए। सन् २०११ मा रिलिज भएको यो फिल्ममा जोनी डेप शीर्ष भूमिकामा थिए।
पेरीले ‘लस्ट’, ‘हवाई फाइभ-०’, ‘ब्लू क्रस’ र ‘चार्लीज एन्जल्स: फुल थ्रोटल’मा पनि अभिनय गरेका छन्।
अमेरिकाको ओहायोमा जन्मिएका पेरी एक दशकभन्दा बढी समयदेखि व्यावसायिक रूपमा सर्फिङ गर्दै आएका थिए। उनी सर्फिङ प्रशिक्षक पनि थिए। उनको निधनको खबर आएसँगै शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।







