
काठमाडौं— राष्ट्रिय चिकित्सा शिक्षा आयोगले झापाको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ। मंगलबार बालुवाटारमा बसेको आयोगको बैठकले यो निर्णय गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको आयोगको बैठकमा प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय लिइएको हो। आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सम्बन्धनको प्रस्ताव गरेका थिए।
सर्वोच्च अदालतले यसअघि बीएन्डसीलाई सम्बन्धन दिन परमादेश जारी गरिसकेको थियो। अदालतको परमादेशअनुसार निर्णय गरिएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव र शिक्षा मन्त्री सुमना श्रेष्ठ पनि सहभागी थिए। आयोगको १४औं बैठकको मुख्य एजेन्डा बीएन्डसीको सम्बन्धनको विषय थियो।
सर्वोच्च अदालतले जेठ २४ गते काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलाई १५ दिनभित्र बीएन्डसीलाई सम्बन्धन दिन आदेश दिएको थियो। त्यसपछि काठमाडौं विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन दिन सिफारिससहितको पत्र पठाएको थियो।
बीएन्डसी मेडिकल कलेजले २०६४ सालमा शिक्षा मन्त्रालयबाट आशय पत्र प्राप्त गरी पूर्वाधार निर्माणलगायत मेडिकल कलेज सञ्चालनको पूर्वतयारी गर्दै आएको थियो। सम्बन्धन नपाएपछि बीएन्डसी सञ्चालक दुर्गा प्रसाईं सर्वोच्च अदालत गएका थिए।







