जनकपुरधाम, २ असार । धनुषाको महेन्द्रनगरबाट जेठ २६ गतेदेखि बेपत्ता भएकी २८ वर्षीया रुबी यादवको शव शनिबार राति मिथिला नगरपालिका-६ औरहीस्थित सामुदायिक वनको खोल्सामा फेला परेको छ।
रुबीको हत्या श्रीमान् राजु यादवले गरेको पुष्टि भएको छ। श्रीमतीलाई बेपत्ता बनाएको शङ्कामा इलाका प्रहरी कार्यालय सखुवाले राजुलाई बिहीबार नियन्त्रणमा लिएको थियो। प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार, राजुको बयानकै आधारमा शव फेला परेको हो। राजुले हत्या गरेको स्वीकार गरेका छन्।
जेठ २६ बिहानदेखि रुबी बेपत्ता भएपछि उनका माइती पक्षले भोलिपल्ट प्रहरीमा उजुरी दिएका थिए। त्यसै दिन बिहानै राजुले औरही बाबाको दर्शन गर्न भनेर श्रीमतीलाई लगेर हत्या गरेका थिए।
रुबीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
राजु केही महिनाअघि वैदेशिक रोजगारबाट फर्केका थिए। फर्केपछि पारिवारिक विवाद भएको थियो। रुबीका भाइ अनित यादवका अनुसार, विवादको क्रममा राजुले रुबीलाई कुटपिट तथा यातना दिने गरेका थिए। बेपत्ता हुनुभन्दा पाँच दिनअघि पनि राजुले निर्घात कुटपिट गरेका थिए, जसको छलफल इलाका प्रहरी कार्यालय सखुवामा भएको थियो।
माइती पक्षले दिएको कर्तव्य ज्यानको जाहेरीको आधारमा प्रहरीले राजुमाथि कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ। रुबीका ६ वर्षीय छोरा अस्मित यादव छन्।








