सर्वोच्च अदालतले बुबाको नाम खुलाउन नचाहे आमाको नाम राखेर मात्र पनि नागरिकता दिन जिल्ला प्रसाशन कार्यालय, ललितपुरका नाममा आदेश दिएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका-६ की विन्दिया महर्जनले कुमारी अवस्थामै छोरी जन्माएको र आफ्नी छोरी बुबा सम्पर्क विहीन भएको जनाउँदै २०७८ सालमा सर्वोच्च अदालतमा दायर गर्नुभएको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिंहा र नहकुल सुवेदीको इजलासले ०८० साउन २३ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै अदालतले उक्त आदेश दिएको हो ।
रिट निवेदक विन्दिया महर्जनले आफू प्रेम सम्बन्धमा रहेको अवस्थामा गर्भवती भएको र गर्भवती भइसकेपछि प्रेमीलाई विवाह गर्नुपर्छ भन्दा त्यही अवस्थामा प्रेमीले मार्ने नियतले कोठामा थुनेर र मट्टितेल खन्याएर आगो लगाएर हत्या गर्ने प्रयास गरेको र त्यसपछि विवाह नगरी पुरुष सम्पर्क विहीन भएकोले गर्भअवस्था पश्चात जन्मिएकी छोरी कृष्टिनालाई नागरिकता दिलाउन उसको बुबाको स्थायी ठेगाना मकवानपुरको मनहरी गाउँपालिकाको वडा नम्बर ४ कार्यालयमा जन्मदर्ता बनाउन खोज्दा पनि नबनाइदिएको उहाँले निवेदनमा उल्लेख गर्नुभएको थियो ।
सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘रिट निवेदक विन्दिया महर्जनको छोरी कृष्टिना महर्जनलाई वंशजको आधारमा नेपालको नागरिकताको प्रमाणपत्र जारी गर्नु गराउनु भनी गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, ललितपुरको नाममा परमादेश जारी गरिदिएको छ ।’ सर्वोच्च अदालतले कृष्टिना महर्जनको आमाको नाममात्रै उल्लेख गरी जन्मदर्ता प्रमाणपत्र दिन, नागरिकताको सिफारिस बनाइदिन वडा कार्यालयको नाममा आदेश दिएको छ भने कागजात पाएपछि आमाको नामबाट मात्रै नागरिकता जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई आदेश दिएको हो ।
फैसलाको पूर्णपाठमा भनिएको छ, ‘निजलाई सिफारिस र नागरिकताको प्रमाणपत्र जारी नगर्दा कानुन अनुरुप नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने निवेदकको संवैधानिक हक प्रभावित हुने अवस्था देखिन आयो । बुबा बेपत्ता भई छोरीले बुबाको कहिल्यै अनुभूति नगरेको, आफ्नो सन्तानलाई खोजविन वा हेरचाह समेत नगरेको, कुनै जिम्मेवारी समेत नलिएको कारणबाट कृष्टिना महर्जनका लागि बुबा पहिचान विहीन रहेको देखिएकाले त्यस्ता जैविक बुबाको नाम नागरिकतामा उल्लेख गर्न नचाहेको भनि निवेदनमा नै खुलाएको अवस्थामा जन्मदर्ता गर्न नमिल्ने वडा कार्यालयको आदेश बदर हुने ठहर छ ।’
अदालतले कृष्टिनाको आमा विन्दिया महर्जन नेपाली नागरिक रहेको र उहाँले वंशजको नागरिकता पाएको अनि छोरी पनि नेपालमा जन्मिएर नेपालमै पढेकाले कृष्टिनालाई वंशजकै आधारमा नागरिक दिनु पर्ने समेत उल्लेख गरेको छ ।








