हिजो जस्तो लाग्छ
रगताम्य शरीर लिइ हार गुहार गरेको
भद्र भलाद्मी सहित कचहरी बसेको
मेरो अस्तित्वको खिल्ली उडेको
यो पित्री सत्ताले मेरो मन कुँढेको
मेरो सपनाको फुल कोपिलामै चुंडेको
विक्षिप्त कहालीलाग्दो त्यो दिन
के भनौं! मान्छेहरुको भिड बाट यस्तो सम्म सुनियो
मान्छेहरुको एक एक वचन
तातेको झिर जस्तो
विषयुक्त तिर जस्तो
निल काँढाले घोछे जस्तो
हजार भोल्टेज को करेन्ट जस्तो
सुनी नसक्नुको!
वैंसले उम्लेको थियोे पोखियो
नक्कल झक्कल गर्थिइ देखियो
आइमाई भएर ठाममा बस्नु पर्छनि
दङ्ग्दङ्ग गन्हाएसी कस्ले स्विकार्छ?
आफैले बोलाइहोली नाटक गर्छे
अहँ म सुन्नै नसक्ने भएकी थिएँ
यो समाजलाई मेरो प्रश्न छ
के म छोरी हुनु मेरो गलती हो?
के नारी मान्छे होइन?
जस्ले जहाँ जे गरेनी हुन्छ?
छोरीलाई खुसी हुने छुट छैन?
के कानुन निर्धालाइ मात्र हो?
हैन भने
मेरो बच्चामा उसको रगत दौडिरहेछ
उ त अझै खुल्लेआम हिंडिरहेछ
अझैसम्म विनम्रता साथ भन्दैछु
कि बच्चालाई माया कि छाया देउ
कि नाउँ देउ कि गाउँ देउ
मेरो आवाजले किन सत्ता डराउंछ?
किन कानुनले मैलाइ गल्ती ठहराउंछ?

बिकास लुङ्गेली
०७९/०४/२५पोखरा साभार








