११ असार, काठमाडौं: चितवनको ऐतिहासिक दियालो बंगला सर्वसाधारणको अवलोकनका लागि खुला गरिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले चितवनस्थित दियालो बंगलाको अनुगमन गर्दै यो जानकारी दिएका हुन्। विगतमा पूर्व राजाहरूले प्रयोग गर्दै आएको यो बंगला हाल नेपाल ट्रष्टको नाममा रहेको छ।
दियालो बंगला दरबारमा १७ माघ २०२८ मा राजा महेन्द्रको निधन भएको थियो। राजा महेन्द्रले २०१८ सालमा निर्माण सुरु गरेर २०२६ सालमा पूरा गरेका थिए। महेन्द्रपछि उनका छोरा वीरेन्द्र र उनको परिवार पनि हिउँदमा यहाँ बस्न आउँथे।
बंगलामा राजा महेन्द्रको शयन कक्ष, उनको प्रयोग गर्ने दुईवटा हतियार, त्यतिबेलाका बिस्तरा, पलङ, र गलैचाहरू छन्। साथै, बंगलामा स्मोकिङ जोन र बार पनि रहेको छ।
दियालो बंगला नारायणगढ बजारदेखि चार किलोमिटर पर नारायणगढ-मुग्लिन सडक र देवघाट जाने सडकको छेउमा अवस्थित छ। जंगलभित्र रहेको दरबार नजिकै उत्तरमा नारायणी नदी पनि छ। इतिहास बुझ्न र अध्ययन गर्न चाहनेहरूका लागि दियालो बंगला उपयुक्त स्थल हुने देखिएको छ।








