सोनमा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा भएको शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएका छन् ।
गाउँपालिकाले माध्मिक तहका गणित, निम्न माध्मिक तह अङ्ग्रेजी र समाजिक विषय अध्यापन गराउँदै आउनु भएका शिक्षकहरू ४२ वर्षीय शत्रुधन प्रसाद यादव, ५२ वर्षीय तेज नारायण मण्डल र ३७ वर्षीय सिकेन्द्र श्रेष्ठलाई सरुवा गर्न खोजेको विरोधमा २०८० भदौ १९ गते विद्यार्थीहरू पालिकामा चर्को विरोध प्रदर्शन तथा आन्दोलन गरेका थिए । “शिक्षक सरुवा हुनु भएन, राम्रो पढाइ दे, खानेपानीको व्यवस्था गर, शौचालयको सरसफाई गर” लगायत विभिन्न विषयलाई लिएर नाराबाजी गर्दै विद्यार्थीहरूले चर्को प्रदर्शन गरेका थिए ।
कक्षा आठमा अध्ययनरत विद्यार्थी १६ वर्षीय अहमद राजाका अनुसार, “हामी शान्तिपूर्ण आन्दोलन गर्न आएका थियौ तर पालिकामा गाउँपालिकाका अध्यक्षको आदेशमा कक्षा आठमा अध्ययनरत एक १५ वर्षीय विद्यार्थी अफजल शेखलाई ताल्चाले टाउको फुटाइ दिए पश्चात आन्दोलन चर्किएको हो” । आन्दोलनको क्रममा विद्यार्थीहरूले गाउँपालिकाको भवन, गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी, खैरबन्नी सशस्त्र प्रहरीको गाडीमाथी ढुङ्गा मुढा तथा तोडफोड गर्नुैका साथै दुई ओटा मोटरसाइकलमा समेत आगजनी गरेका थिए ।
सोही क्रममा दुई जना प्रहरी जवान र पाँच जना विद्यार्थी घाइते भएका थिए । घाइते हुनेहरूमा सशस्त्र प्रहरी जवान २५ वर्षीय प्रकाश, नेपाल प्रहरी जवान ३१ वर्षीय फुलगेन मण्डल र विद्यार्थीहरू १३ वर्षीया सन्ध्या यादव, १५ वर्षीया खुश्बू सिंह, १५ वर्षीया कल्पना यादव, १३ वर्षीय अंकुश यादव र १४ वर्षीय गणेश यादव रहेका थिए । घाइतेहरूलाई उपचारका लागि जानकी एकेडेमी पर्सा रामगोपालपुरमा लगिएकोमा पाँच जना विद्यार्थी मध्ये चार जना भदौ २२ गते डिस्चार्ज भएका छन् र एकजना विधार्थी सन्ध्या यादवलाई थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा रेफर गरिएको छ ।
यस समबन्धमा पालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवले अहिले शिक्षक सरुवा नगरेको बताए । उनले भने, “हामीले चर्चा मात्र चलाएका थियौं । विद्यार्थीहरू शान्तिपूर्ण रुपमा आन्दोलन गर्न आएका थिए । तर, यो आन्दोलनमा हाम्रा केही विपक्षीहरूको घुसपेठले शान्तिपूर्ण सुरु भएको आन्दोलनले उग्र रुप लियो” । घुसपेठ गर्ने जोकोही भएपनि उनीहरूमाथि हामी कानुन बमोजिम कारबाही तथा मुद्दा चलाउने अध्यक्षले बताए ।
आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रु ग्यास प्रहार गरेका थिए र साथै केही आन्दोलकारीलाई गिरफ्तार समेत गरेका छन् । गिरफ्तार हुनेहरूमा सोनमा गाउँपालिका–२ का ४० वर्षीय लालिन्द्र यादब, २१ वर्षीय उपेन्द्र कुमार शाह, १९ वर्षीय नैजामुदिन अन्सारी, सोनमा गाउँपालिका–१ का २० वर्षीय महेशकुमार यादव, २५ वर्षीय रामकेवल यादब रहेका छन् र उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपि प्रकाश मल्लले जानकारी दिए ।