तनहुँमा कुल जनसंख्याको ३५ प्रतिशत जनता स्वास्थ्य बिमा सेवामा आवद्ध रहेका छन् । हालसम्म १ लाख १४ हजार ८ सय ८७ जना स्वास्थ्य बीमामा आवद्ध भएको स्वास्थ्य बिमा बोर्ड तनहुँले जनाएको छ ।
तर सर्वसाधारणले प्रथम सेवा विन्दुमा विशेषज्ञ स्वास्थ्यकर्मी, औषधी र उपकरणको पर्याप्त सुविधा नहुँदा प्रथम सेवा विन्दुबाट सबै प्रकारका स्वास्थ्य सेवा लिनबाट वञ्चित भएको बोर्डका दर्ता अधिकारी सिर्जना पोख्रेलको भनाई छ । उहाँले भन्नु भयो, ‘केही अस्पतालका कर्मचारीले बिमीतले नलिएको स्वास्थ्य सेवा उपचार र औषधीको दावी भुक्तानी लिने गरेको गुनासो आएको छ । जनता सचेत भएमा फर्जी भुक्तानी दावी रोकथाम गर्न सकिन्छ ।’ कार्यालयका अनुसार व्यास नगरपालिकाका २१ हजार ७ सय २८ जना, आँबुखैरेनी गाउँपालिकाका ६ हजार ४ सय ३६ जना, बन्दीपुर गाउँपालिकाका ७ हजार ६ सय २७, भानु नगरपालिकामा ११ हजार ३ सय ४५, भिमाद नगरपालिकाका १४ हजार १ सय ६७, देवघाट गाउँपालिकाका ८ हजार ६ सय ३५ जना स्वास्थ्य बिमामा आवद्ध भएका छन् ।
त्यस्तै घिरिङ गाउँपालिकाका ५ हजार २ सय ८१, शुक्लागण्डकी नगरपालिकाका– २८ हजार ५ सय ९७, म्याग्दे गाउँपालिकाका ७ हजार २ सय ३९ जना स्वास्थ्य बिमामा आवद्ध भएको कार्यालयले जनाएको छ । जनचेतनाको कमी र गरिबीका कारण अझै पनि ठुलो जनसंख्या स्वास्थ्य बिमामा आवद्ध हुन नसकेको दर्ता अधिकारी पोख्रेलले जानकारी दिनुभयो । तनहुँमा स्वास्थ्य बिमामा आवद्ध भएकालाई प्रथम सेवा बिन्दु ६ ओटा रहेका छन् । पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र भानु, भीमाद प्राथमिक स्वास्थ्य केन्द्र भिमाद, बन्दीपुर अस्पताल बन्दिपुर, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र शुक्लागन्डकी, दमौली अस्पताल दमौली र आँबुखैरेनी अस्पताल आबुँखैरेनीबाट सर्वसाधारणले स्वास्थ्य बिमाको सुविधा पाउने गरेका छन् ।
स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन बिमा नीति नै बाधक रहेको दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बरालले बताउनु भयो । बिमा पोलिसी अनुसार सरकारले आवश्यक रकम उपलब्ध नगराउँदा पर्याप्त औषधी खरिद गर्न नसकिएको उहाँले बताउनु भयो । जसकारण बिमामा आवद्ध नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सकिएको छैन ।’ नेपालको संविधान २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकको रुपमा स्थापित गरेपछि नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन यो कार्यक्रम लागु भएको हो ।