रवीन्द्र माकाजु
पोखरामा पहिलोपल्ट २००६ साल मार्ग २० गते नारायणस्थानमा पोखरा पब्लिक स्कुल खोलियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए वडाहाकिम मेजर जनरल धन शमसेर । स्कुल खोलेपनि पोखरामा पढे लेखेको मान्छे नहुँदा मास्टर काठमाडौंबाट ल्याउनु पर्दथ्यो । अध्यक्ष मेजर जनरलले भक्तपुरमा आफूले चिनेका जगन्नाथ उलकलाई पोखरा झिकाए । उनले शुरुका केही वर्ष हिसाब पढाए । उलक हिसाब पढाउन खप्पिस थिए । पछि उनी कार्पेन्टरीका शिक्षक भए ।
जगन्नाथ मास्टर २००६ साल चैत्र १० गते पोखरा आउनका लागि हिडे । उनका साथमा श्रीमती, दुई छोरी र आफूले बनाएको हाम्रो नियम र पुरस्कार स्वरूप प्राप्त केही पुस्तक । उनलाई पोखरा आउन १२ दिन लागेको थियो । बस्ने ठाउँ नहुँदा वडाहाकिमले आफ्नै दरबारमा राखे । पछि भैरवटोलमा डेरामा बसे । २००६ साल चैत्र २९ गते पोखरामा भीषण अग्निकाण्ड भयो । बिन्ध्यवासिनीबाट शुरु भएको अग्निकाण्डले उलकका सारा सामान पनि जलाईदियो । पछि वडाहाकिमको सहयोगले नयाँ डेरामा केही नयाँ कपडा र भाँडाकुँडा लिएर बसे ।
यसरी स्कुलमा कार्पेन्ट्री पढाउने हुँदा घरमा पनि बिस्तारै साना साना काठका फर्निचरहरु पनि बनाउनु परिवारको बलियो साथ हुन्थ्यो । कुर्ची, टेबल साना साना दराजहरु घरमा बनाउने गर्नुहुन्थ्यो ।
सुन्दरप्रसाद मर्साजी संचालक समितीको अध्यक्ष र श्यामप्रसाद पन्त प्रधानाध्यापक भए पछि स्कुलमा चलेको राजनैतिक र पारिवारिक सदस्यको नियुक्ती पछि २०१६ सालमा शिक्षक पदबाट राजिनामा दिए । तर घरमा ट्युशन पढ्न आउनेले भने छोडेन ।
पुस्तक व्यवसायको शुभारम्भ
पारिवारिक खर्च ठूलो, महिनाको १५ रुपैयाको तलवले अभाव हुन थाल्यो । यस्तैमा २००९ सालतिर पोखराका कपड़ा व्यवसायी जगदिश प्रसाद गौचनले केही किताव ल्याएर बिक्री गर्न थाल्नु भएको थियो तर वहाँको समय अभाव तथा कपडा पसलमा पुस्तक बिक्री गर्न अप्ठ्यारो भए पछि वहाँले सो पुस्तक बिक्री गर्ने जिम्मा उलकलाई दिए । ल्याइएका थोरै पुस्तक छिट्टै सकियो । पछि फेरी किताव दुकान खोल्न त सोच्नुभयो तर एक्लैले आँट गर्न नसकेपछि अन्य साथीहरुलाई हिस्सेदार राख्नुभयो । तर साथीहरु व्यापारिक नभएको हुँदा बारम्बार हिसाव हेरिरहने नाफा लिन आउने गरिरहँदा दिक्क लागेर सबैको हिस्साको रकम सुनको गहना सबै बेचेर तिरिदिनुभयो । यसपछि पूर्णरुपमा एक्लैले किताव दुकान सञ्चालन गर्नुभयो । यसरी वहाँ पुस्तक व्यापारी पनि बन्नुभयो । वहाँ नै पोखराको पहिलो पुस्तक व्यवसायी भन्नमा अत्युक्ति नहोला कि जस्तो लाग्छ ।
यसरी शुरु भएको पुस्तक व्यवसाय धेरै वर्ष सम्म रह्यो । वहाँको पुस्तक पसलमा किताव कापी, कलम तथा मसी किन्नेहरुको भिड लाग्ने गर्दथ्यो । प्रत्येक वर्ष रत्न पुस्तक भण्डारका पुस्तकहरु नै पुस्तक तालिकामा पर्दथे । रत्न पुस्तक भण्डारका पुस्तकहरु जहाज चार्टर्ड गरेर ल्याउथे । यसै बिच २०१७ सालमा देशमा भएको राजनैतिक परिवर्तनसंगै २०१७–१८ को शैक्षिक सत्रमा नेपाल सरकारले पुस्तकहरु स्तरीय नभएको तथा राष्ट्रिय भावना विपरित भएको भन्दै पुरानो पुस्तकहरु खारेज गरिदिए । यो निर्णय अगावै काठमाडौंबाट रत्न पुस्तक भण्डारका पुस्तकहरु खरिद गरेर पोखरा ल्याए । तर अन्तिम समयमा पुस्तकहरु सहयोगी प्रकाशनको स्वीकृत भयो । जसले गर्दा वहाँले ल्याउनुभएका पुस्तकहरु बिक्री गर्न नसकिने भयो । रत्न पुस्तक भण्डारले ति पुस्तक फिर्ता ल्याइदिए रकम फर्काइटिले जानकारी त दियो । तर यो दोहोरो घाटा लाग्ने भयो । भरियालाई पुन बोकाएर विमानस्थल लैजानुपर्ने फेरी जहाज चार्टर्ड गरेर काठमाडौ पु¥याउनु पर्ने त्यसपछि फेरी लरीबाट रत्न पुस्तकको भोटाहिटी लैजानु पर्ने ! काठमाडौबाट पोखरा ल्याएको खर्च खेर गइसकेको थियो । फेरी पोखराबाट काठमाडौबाट पोखरा फिर्ता लैजादा फर्कने पैसा भन्दा बढी खर्च हुने हुँदा पुस्तक फिर्ता गर्नुभएन । यसले गर्दा निकै घाटा भयो । रत्न पुस्तक भण्डारका साहु रत्नदासले सदासयता देखाउनु हुँदै वहाँलाई निकै घाटा लागेको हुँदा बाकी तिर्नुपर्ने रकम भन माफी गरिदिए ।
वहाँका दाजु रामप्रसाद भद्राले एउटा प्रस्ताव ल्याउनुभयो अर्घामा रहेको सय रोपनी भन्दा बढी खेत कमाएर बसिदिनु भएमा आधा वहाँलाई दिन प्रस्तावले खुशी हुँदै अर्घौ हानिनु भयो । दाजुको बहकाउमा लागेर वहाँले आफ्नो बचेको व्यवसायलाई बेवास्ता गर्दै अघौंमा दाजुको खेतमा खेती गर्न पुग्नुभयो । उतै बस्ने गरेर वहाँ जानुभए पनि आमा र दिदीहरुले पनि व्यवसाय सञ्चालन गरिराख्नु भएकै थियो । २०२१–२२ सालसम्म मुश्किलले चलेको पुस्तक व्यवसाय त्यसपछि सदाको लागी बन्द भयो ।
फोटोग्राफीको शुरुवात
२००२–३ साल देखी नै पाल्पाका गंगाबहादुर बिभिन्न ठाँउमा फोटो खिच्दै हिड्ने गर्नुहुन्थ्यो । संयोगवश २०१० सालमा बाग्लुङबाट पोखरामा बसाइ सर्नुभएका कृष्णकुमार वैद्य भैरवटोलमा नै डेरा लिएर बस्न आउनु भयो ! वहाँ बस्ने घर र कृष्णकुमार वैद्य बस्नुहुने घर नजिकै हुँदा आउने जाने गर्नुहुन्थ्यो । एक दिन गंगाबहादुरलाई लिएर कृष्णकुमार वैद्य बागलुङबाट पोखरा आउनु भयो । फोटो खिच्दै बागलुङ पुग्नु भएका गंगाबहादुरलाई फर्कने क्रममा साथ लिएर पोखरा आउनु भएको थियो । पोखरामा कृष्णकुमारले वहाँको परिचय गंगाबहादुरसंग गराइदिए । वहाँ केही नौलो सिक्न सधै आतुर हुनुहुने बानीको गंगाबहादुरले फोटो खिच्न सिक्ने हो भने पछि तैयार भए । यसरी गंगबहादुरले वहाँ र कृष्णकुमार वैद्यलाई फोटो खिच्न सिकाउनु भयो । गंगबहादुरले आफूसँग भएको एक क्यामेर वहाँलाई बेच्नुभयो । फोटो धुलाउने तथा केही नेगेटिभ पनि दिनु भयो । त्यस पछि वहाँले पोखरामा पहिलो फोटो स्टुडियो खोलेर फोटो खिच्ने पेशा पनि शुरु गर्नुभयो । फोटो धुलाउन आबश्यक केमिकल तथा सामग्री कृष्णकुमार वैद्यले कलकत्ता अथवा पटनाबाट ल्याइदिनु हुन्थ्यो ।
२०१० सालमा फोटोग्राफी सिक्नुभएका वहाँले त्यसको केही समय पछि नै पोखरामा पहिलो व्यवसायिक फोटोग्राफीको शुरुवात गर्नुभयो । २०१२ सालमा वहाले “नविन फोटो स्टुडियो“ नामाकरण गर्नुभयो । पुस्तक व्यवसायको साथ साथै २०२२ साल सम्म मात्र व्यवसायिक सञ्चालन रहे पनि फाट्टफुट्ट फोटो भने पछि सम्म पनि खिच्नुहुन्थ्यो ।
२०२२ साल देखी परिवारमा आर्थिक समस्याको शुरुवात भयो । पुस्तक व्यवसाय बन्द भए पछि पुरानो रुचि अनुसार विभिन्न बिग्रेका सामानहरु मर्मत गर्न थाल्नुभयो । पोखरामा वहाँको परिचय कुनै पनि सामान बिग्रिए जगन्नाथ माष्टरले बनाउनु हुन्छ भन्ने भयो । वहाँले कुनै पनि बिग्रिएको सामान बनाउन ल्याउँदा मैले जान्दिन वा सक्दिन भन्नु भएन । म हेर्छु भन्नुहुन्थ्यो र दुइ चार दिनमा बनाएर दिनुहुन्थ्यो । क्यामेरा घडी जस्ता जटिल सामग्री पनि बनाउने गर्नुभयो । वास्तवमा उलक पोखरेलीहरुलाई परेका समस्या समाधान गर्ने माध्यम थिए । हाल उनका सुपुत्र पुराना फोटोहरू सङ्कलन कार्यमा व्यस्त छन्







