अभियान खबर
बैशाख ,४
राप्रपा नेपालका अध्यक्ष कमल थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ । दुई नेताबीचको ‘राजनीतिक सहकार्य’ नयाँ भने होइन । तत्कालीन राप्रपामा हुँदा कट्टर हिन्दुवादी र राजावादी भएर पनि थापाले ओलीसँग सुमधुर सम्बन्ध राखेका थिए ।
२०६२–०६३ सालको जनआन्दोलनपछि राजावादी पार्टी गठन गरेका थापा २०७० को चुनावबाट राजनीतिमा शक्तिशाली भएर उदाए । दोस्रो संविधानसभामार्फत उनको तत्कालीन पार्टी राप्रपाले समानुपातिकमा २४ सिट ल्याएसँगै उनले पटक–पटक सत्ताको स्वाद पनि चाखे । तर यसले थापामाथि हिन्दुत्व र राजसंस्थाको एजेण्डा बोकेर गणतान्त्रिक सरकारमा सहभागी भएको आरोप मात्रै लागेन, त्यही ‘लफडा’ले उनको पार्टीमा विग्रहसम्म आयो । तत्कालीन राप्रपासँग एकतापछि २७ सिटसम्म भएको त्यो बेलाको राप्रपा आन्तरिक विवादकै कारण विभाजित मात्रै बनेन, थापाको सत्तालिप्साका कारण ‘बदनाम’ भएर २०७४ को संघीय निर्वाचनमा नराम्ररी पराजित बन्न पुग्यो । एमालेसँगको तालमेलकै कारण झापामा राजेन्द्र लिङ्देनले एक सिट जित्नुबाहेक कुनै उपलब्धि हात लागेन । ‘थ्रेस होल्ड’ समेत कटाउन नसकेका कारण पार्टीले राष्ट्रिय हैसियत पनि प्राप्त गर्न सकेन ।
अबका दिनहरुमा दुइ पार्टीहरुमा एकता कतिको सम्भावना छ भन्ने आगामी दिनहरुले नै देखाउला ।








