महोत्तरीको जलेश्वरस्थित एक होटलमा छापा मारी प्रहरीले यौनधन्दामा संलग्न होटल सञ्चालिका र भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ। जलेश्वर नगरपालिका वडा नं. २, मटिहानी चोक नजिकै सञ्चालित कोइराला होटल तथा लज मा महिलाहरूलाई प्रलोभनमा पारी जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार दिउँसो छापा मारेको हो।
प्रहरी टोलीले होटलको खानतलासी गर्दा पहिलो र दोस्रो तलाका कोठाहरूमा दुई पीडित महिला र दुई भारतीय पुरुषलाई आपत्तिजनक अवस्थामा फेला पारेको थियो। होटलका कोठाभित्र खाटको डस्ना मुनि र भुइँमा प्रयोग गरिएका तथा नगरिएका अस्थायी साधनहरू छरपष्ट अवस्थामा फेला परेका थिए।
पक्राउ पर्नेहरूमा भारतको मधवापुरका २८ वर्षीय र मधुवनीका ३६ वर्षीय पुरुष रहेका छन्। त्यस्तै, जलेश्वर–२ का ६० वर्षीय पुरुष र ४५ वर्षीया होटल सञ्चालिकालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।







