साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री नाबालिका छोरी हुर्काइ एकल जीवन बिताइरहेकी थिइन् । प्रहरीका अनुसार उनलाई धारिला हतियारले पछाडिबाट टाउकोमा हानेर शिवालय चोकतिर भाग्ने व्यक्ति पहिचान नजिक पुगेको छ।
पोखरा महानगरपालिका-५, जीरोकिलोका मासु पसल तथा रेष्टुरेण्ट व्यवसायीसँग विवाह गरेकी उनी पारिवारिक किचलोका कारण फेवाताल किनारा सेदीमा बस्दै आएकी थिइन् ।
उनका पति स्थानीयका बीच ‘खसी किस्ने’ का नामले चिनिन्थे । कृष्णको उनीसँग विवाह गरेको केही वर्षमै निधन भयो । जेठी पत्नीको निधन भएपछि तनहुँकी सिर्जनासँग दोस्रो विवाह गरेका थिए । तर, जेठीतर्फका छोरा र परिवारका अन्य सदस्यसँग राम्रो सम्बन्ध नहुँदा पति कृष्णले सेदीमा घर बनाइदिएका थिए ।
जिल्ला प्रहरी कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार बुधबार साँझ उनलाई टाउकोमा हतियार प्रहार गर्ने व्यक्ति उनी चिच्याएर लडेसँगै भागेका थिए । सीसीटीभी फुटेजको अध्ययनमा स्कुटीमा भागेजस्तो देखिन्छ । उनी शिवालयतिर भागेको देखिन्छ । शिवालय लेकसाइडतिर जाने बाटो हो । ती सबै ठाउँमा सीसीटीभी जडान भएका कारण व्यक्ति पहिचान सहज हुने प्रहरीको अनुमान छ ।
प्रहरीलाई प्राप्त सूचनाअनुसार घरासयी सामान किनमेलका लागि सिर्जना बजार निस्किएकी थिइन् । फर्किनका लागि गाडी पर्खिरहँदा उनीमाथि धारिलो हतियार प्रहार भएको हो । विवाह गरेर केसी परिवारमा भित्रिएदेखि नै सिर्जनाले पारिवारिक किचलो झेलेकी थिइन् ।
पत्नीका लागि सेदीमा घर बनाइदिएका विषयमा कृष्णको परिवारभित्र विवाद हुँदै आएको थियो । उक्त जग्गामा उनको परिवारका अन्य सदस्यले पनि आँखा लगाएको पारिवारिकस्रोतले जनाएको छ ।








