रोमेलु लुकाकुको निर्णायक गोलमा इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । चेल्सीले साउदी अरेबियाको क्लब हिलाललाई १–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
मोहम्मद विन जायद स्टेडियम आवुधावीमा बुधबार राति भएको खेलमा लुकाकुले पहिलो हाफमा गरेको गोल नै चेल्सीको जितमा पर्याप्त बन्यो । त्यसअघि नवौं मिनेटमा थियागो सिल्भाले लङ रेन्जबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।
११औं मिनेटमा हाकिम जियाचको प्रहार क्रसबारबाट थोरै बाहिरिदा चेल्सी अग्रता लिनबाट चुक्यो । लगत्तै १२औं मिनेटमा माटियो कोभासिसको भली प्रहार सदुपयोग हुन सकेन । १८औं मिनेटमा लुकाकु चुके । ३२औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दलाए । अल बुराएकको क्रस डिफ्लेक्ट हुदै फर्किएपछि काई हाभर्टजले दिएको पासमा लुकाकु गोल गर्न सफल भए ।
४८औं मिनेटमा काई हाभर्टजले ६ यार्डबाट गरेको प्रहार पोस्टमा लागेर फर्कदा डिफेन्डरले क्लियर गर्दै घरेलु टोलीको संकट टारे । त्यसपछि दुवै टोलीले केही अवसर पाएपनि सदुपयोग हुन नसक्दा चेल्सी विजयी हुन सफल भयो ।
अब चेल्सीले उपाधिका लागि ब्राजिली क्लब पाल्मेइरसको सामना गर्नेछ । पाल्मेइरसले यसअघि इजिप्टको अल एहेलीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । फाइनल १२ फेब्रुअरीमा हुनेछ । सोही दिन तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।