प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको हो । शीर्ष नेताहरुको छलफलमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमाले महासचिव शंकर पोखरेल र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।
बैठकमा प्रधानमन्त्री देउवाले एमसिसीमा सहयोग गर्ने विषयमा सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । बैठक पछि एमाले महासचिव पोखरेलले प्रचण्डले भने चुनाव नजिकिएको भन्दै चुनाव पछि एमसिसीको विषय टुंग्याउन प्रस्ताव गरेका थिए । देउवाले भने एमसिसीका बारेमा आफ्नो दल सुरु देखि नै प्रस्ट रहेको बताउँदै एमसिसीबारे छिटो निर्णयमा पुग्न ओलीलाई आग्रह गरे ।
एमसीसी स्थगित गर्ने विषय सत्तारूढ र प्रतिपक्षी दलले संयुक्त रूपमा आग्रह गर्नुपर्ने प्रचण्डको भनाइ थियो। एमसीसीको विषयमा प्रधानमन्त्रीसँग मिलेर संयुक्त पत्र लेखेको कुराको आफूले खण्डन नगरेको उनले बताएको महासचिव पोखरेलले बताए ।
देउवाले संसदको अवरोध हटाउन एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । तर ओलीले भने सभामुखको कदमका कारण समस्या भएको बताएका थिए । ओलीले आफूहरूलाई संसद्मा प्रवेश गर्ने वातावरण बने राष्ट्रिय महत्त्वका कुनै पनि विषयमा प्रमुख प्रतिपक्षी दल अनिर्णीत नबस्ने धारणा राखेका थिए ।
संसद् अवरोध र एमसीसीका विषयमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिकासँग प्रत्यक्ष जोडिएको उनको भनाइ थियो । सभामुखले मार्गप्रस्त गरे सदन सुचारु हुने महासचिव पोखरेलको भनाइ छ । स्थानीय निर्वाचन समयमै हुने कुरामा शङ्का नगर्न पनि उनले आग्रह गरे ।
एमसिसीबारे प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले लेखेको पत्र सार्वजनिक भएकै दिन नेताहरुबीच एमसिसीबारे बहस भएको हो । तर सत्ता गठबन्धनबीच नै एमसिसीबारे समान धारणा नभएको ओलीले बताएका थिए ।