मनहरीस्थित मिटरब्याजी पीडित र स्थानीयबीच झडप हुँदा २० जना मिटरब्याज पीडित घाइते भएका छन् । झापाको काकडभिट्टाबाट आएका मिटरब्याज पीडितहरू मनहरीमा एक स्कुटी चालक आएर ठोक्किँदा विवाद भएको थियो ।
उक्त झडपबाट २० जना घइते भएको इलाका प्रहरी कार्यालय, मनहरीका इन्स्पेक्टर दिपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सबै घइतेहरूको स्वास्थ्य उपचार चितवनस्थित चितवन मेडिकल कलेजमा भइरहेको छ ।
सरकारले मिटरब्याजको समस्या समाधान नगरेको भन्दै पीडितहरूले माघ १६ गतेदेखि झापाको काकडभिट्टाबाट पैदल हिँडेर न्यायको लागि अभियान थालेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका केन्द्रीय सदस्य विशाल क्षेत्रीले जानकारी दिनुभयो ।
उहाँले मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले गठन गरेको कार्यदलले ल्याएको प्रतिबेदन पालना गरेमा मात्र मिटरब्याज पीडितले छिटो न्याय पाउने उल्लेख गर्नुभयो ।
विगतमा गरेको सम्झौता पश्चात स्थानीय स्तरमा टोली परिचालन गरेर प्रतिवेदन सरकारलाई बुझाए पनि सरकारले कानुन बनाउनुभन्दा पुनः आयोग बनाएर मिटरब्याज पीडितलाई न्यायबाट पर धकेलिरहेको उहाँको भनाई छ ।








