मोरङको केराबारीमा एक व्यक्तिले २जनालाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । लेटाङ नगरपालिका-१ का अन्दाजी ५२ वर्षीय नीरकुमार राईले माइजू र बहिनीलाई खुकुरी प्रहार गरेका हुन् ।
राईले केराबारी गाउँपालिका-९ भलुवाईकी अन्दाजी ५० वर्षीया जमुनादेवी राई र जमुनादेवीकी छोरी २५ वर्षीया रेणुका राईलाई घाइते बनाएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । पेस्तोल र खुकुरी बोकेर घरमै पुगेका नीरकुमारले जमुनादेवी तथा रेणुकालाई बिहान साढे ९ बजेतिर खुकुरी हानेका हुन् । खुकुरी प्रहारबाट जमुनादेवी र रेणुकाको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरूको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
नीरकुमारको साथबाट अटोमेटिक पेस्तोल र म्याग्जिनसहित ४ राउण्ड गोली बरामद भएको छ । साथै, ‘मेड इन चाइना’ लेखेको नक्कली पेस्तोलसमेत फेला परेको छ। नीरकुमारले आफूबाट श्रीमतीलाई अलग बनाएको माइजूमाथि आरोप लगाउने गरेको प्रहरी स्रोतले बतायो ।








