कुश्मा ११ सिल्मीमा गएको पहिरोले २ जनाको ज्यान लियो । मृत्यु हुनेमा मोदी गाउँपालिका ७ कि ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेश पौडेल छन् । उनीहरु दिदीभेनाको घरमा पाहुना आएकोबेला पहिरोमा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कुश्मा ११ कै पकुवा ताल्चेमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षीय छोरा प्रयूश पौडेल र पौडेलकी सासु ७० वर्षीया डल्ली पाध्या पौडेल छिन् ।
‘पहिरोमा परी बेपत्ता भएका सबैको शव भेटिएको छ । पछिल्लो पटक ७० वर्षीय डल्ली पाध्याको शवसमेत फेला परिसकेको अवस्था छ,’ जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले अनलाइनखबरसँग भने ।
शुक्रबार बिहानकै पहिरोले पर्वत मोदी गाउँपालिका ५ अम्बोटका ५० वर्षीय फूलमाया थापाको ज्यान लिएको थियो । बाढी पहिरोले पर्वतमा सञ्चारविच्छेद भएको छ भने पहिरो गर्दा मुख्य सडकमा समेत क्षति पुगेको छ । ‘अविरल वर्षालकै कारण पहिरो झर्दा पोखरा– कुश्मा सडकखण्ड अवरोध भएको छ । क्षति विवरण आउन बाँकी रहेकाले कति भयो भन्ने एकीन भएको छैन,’ प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले भने ।