युनाइटेड क्लवको आयोजनामा पोखरा महोत्सव हुँदै आएको छ । क्लवले आयोजना गरेको ११ औं पोखरा महोत्सवको अवसरमा महोत्सव आयोजना गर्नुको उदेश्य,महोत्सवलाई कसरी नयाँपन दिने भन्ने कुरामा हाम्रो चासो रहन्छ । यो पटक पनि हामीले केही नयाँपन दिएकै छौं । पशुपन्छी अवलोकनको वातावरण मिलाउने, उँट सवार, हात्ती सवार जस्ता मनोरञ्जनका क्रियाकलाप हामीले गर्दै आएका छौं । यस पटक पनि ति रहन्छन् नै । एघारौं पोखरामा विशेष गरि हामी अरु महोत्सवमा नगरिएको घोड सवार र लोक संस्कृति रक्षामा हाम्रो उद्धेश्य रहेकोले विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता राखेका छौं । साथै महोत्सवमा गाउँघरमा लोप हुन लागेको काठे पिङ (रोटे पिङ) देखि नयाँ प्रविधिको झ्यार गेम (विशेष खालको चश्मा लगाएर हेर्न मिल्ने) राख्ने तयारी गरेका छौं । सामाजिक सञ्जाल तिर युवाको चासो देखिएकोले टिकटक प्रतियोगिता गर्ने सोंचमा पनि छौ । पोखरा महोत्सव सांस्कृतिक महोत्सव पनि भएकोले जातीय सद्भाव कायम गर्न, सबै जातजातीको अपनत्व गराउन सबैखालका जातीय भेषभुषाको प्रदर्शनीको वातावरण मिलाएका छौं ।
माघ ९ गतेसम्म जारी रहने महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे ।

उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले मेला महोत्सवले कोरोनापछि थलिएको अर्थतन्त्र चलायमान गराउन भूमिका खेल्ने बताए । स्थानिय उत्पादनलाई बजारीकरण गर्न महोत्सवले सघाउँछ,उनले भने,‘अनि कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्नपनि यस्तो महोत्सवले महत्वपूर्ण योगदान दिन्छ ।’
तेह्र दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहेका छन् । महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवम् बिक्री, हस्तकलाका सामानहरुको प्रदर्शनी एवम् बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवम् जानकारी, ब्यवसायीक संघसंस्थाहरुको सेवाबारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामग्रीहरुको प्रदर्शनी एवम् जानकारीलगायतका स्टलहरु राखिएका छन् । यसैगरी, पोखरालगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवम् जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती सँगै कृषिका गतिविधीहरु पनि महोत्सव स्थलका स्टलमा रहनेछन् ।
महोत्सवमा दिउँसो लोकदोहोरी, साँझमा लाईभ कन्सर्ट आकर्षणको रुपमा रहने आयोजकले जनाएको छ । दिउँसोको लोकदोहोरीमा बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, रामजी खाँड प्रिती आले, चोलेन्द्र पौडेल, ज्योती मगर, राजु परियार, चिज गुरुङ, अस्मिता डल्लाकोटी, कृष्ण अखेली, आलिफ खान लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजक युनाइटेड क्लव पोखराका महासचिव तथा महोत्सव प्रचारप्रसार उपसमिति संयोजक दीनेश सुनारले जानकारी दिए ।
यसैगरी, साँझको कन्सर्टतर्फ मन्त्र, लाहुरे, सविन राई एण्ड द फेरोह, छेवाङ लामा, भिटेन, मेलिना राई, दिक्षिता कार्की, झिल्के एण्ड द कम्पनी, अनुप्रस्थ, अभय एण्ड द स्टीम इन्जीन्स, एएसएमसहित लोकल ब्याण्डहरुको प्रस्तुती रहने उनले बताए । हाँस्य ब्यंस्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, झाँकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुपनि महोत्सवको आकर्षणका रुपमा रहने छ ।
रवि एण्ड सन्नी ईण्डष्ट्रिज प्रालिको बेटर होम अप्लाईन्सेसको मुख्य प्रायोजनमा शुरु भएको महोत्सवको दुई लाख पचास हजार दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ ।








