जापानमा अध्ययनरत एक नेपाली विद्यार्थीमाथि आफ्नै रुममेटको खाना (तरकारी) चोरेर खाएको आरोप लागेपछि सम्बन्धित शैक्षिक संस्थाले उनलाई नेपाल फिर्ता पठाउने निर्णय गरेको घटना सार्वजनिक भएको छ।
प्राप्त जानकारीअनुसार, सो विद्यार्थी टोकियोस्थित एक भाषा विद्यालयमा अध्ययनरत थिए। उनी बसोबास गरिरहेको अपार्टमेन्टमा सँगै बस्ने अर्को बङगालि र म्यानमार का विद्यार्थीले पटक–पटक आफ्नो लागि राखिएको खाना हराएको गुनासो गरेपछि घटना बाहिर आएको हो। पछि गरिएको आन्तरिक छानबिनमा ती विद्यार्थीमाथि तरकारी लिएको आरोप पुष्टि भएको विद्यालय स्रोतले जनाएको छ।
विद्यालय प्रशासनले यस घटनालाई “अनुशासनहीन व्यवहार” र “विश्वासको उल्लङ्घन” भन्दै कडा कदम चाल्ने निर्णय गरेको बताइएको छ। जापानमा विद्यार्थीका लागि बनाइएका नियमहरू निकै कडा हुने भएकाले यस्तो कार्यले विद्यार्थीको भविष्यमा गम्भीर असर पार्ने विशेषज्ञहरू बताउँछन्।
घटनापछि सम्बन्धित विद्यार्थीलाई विद्यालयबाट निष्कासन गरी अध्यागमन प्रक्रियामार्फत नेपाल फर्काउने तयारी भइरहेको बुझिएको छ।
जापानमा रहेका नेपाली समुदायका अगुवाहरूले भने साना गल्तीहरूले पनि ठूला परिणाम निम्त्याउन सक्ने भन्दै सबै विद्यार्थीलाई जिम्मेवार व्यवहार गर्न आग्रह गरेका छन्। “विदेशमा बस्दा व्यक्तिगत आचरणले सम्पूर्ण समुदायको छवि झल्काउँछ,” एक नेपाली समुदायका सदस्यले बताए।
यस घटनाले जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूबीच अनुशासन, आपसी विश्वास र जिम्मेवारीको विषयमा पुनः बहस सुरु गराएको छ।








