भारतीय टेलिभिजन च्यानल एबीपी न्यूजले “भ्रष्टाचारको आरोपपछि बालेन शाहका गृहमन्त्रीले २६ दिनमै राजीनामा दिए” शीर्षकमा समाचार प्रकाशित गरेको छ। त्यस्तै आज तकले तीन हप्तामै गृहमन्त्रीले पद छाड्नुपरेको उल्लेख गर्दै आम्दानीभन्दा बढी सम्पत्ति देखिएपछि उनी विवादमा परेको जनाएको छ।
एनडीटीभी लाइभले “बालेन सरकारमाथि दोस्रो दाग” भन्दै श्रममन्त्रीपछि गृहमन्त्री पनि विवादमा परेको टिप्पणी गरेको छ। उक्त मिडियाले विवादित व्यापारी दीपक भट्टसँगको साझेदारी र सेयर लगानीको विषयलाई मुख्य कारणका रूपमा प्रस्तुत गरेको छ।
यस्तै, देशबन्धु नामक भारतीय सञ्चारमाध्यमले पारदर्शिता र जवाफदेहिताको अभावका कारण मन्त्रीले नैतिक आधारमा राजीनामा दिनुपरेको विश्लेषण गरेको छ। बनारस ग्लोबल टाइम्सले पनि “बालेन शाहलाई अर्को झट्का” शीर्षकमा समाचार प्रकाशित गर्दै २६ दिनमै गृहमन्त्रीको बहिर्गमनलाई महत्वपूर्ण घटनाका रूपमा उल्लेख गरेको छ।
अनलाइन पोर्टल वन इण्डिया डटकमले भने “संकटमा बालेन सरकार” शीर्षकमा समाचार प्रकाशित गर्दै सरकार गठनको प्रारम्भिक चरणमै दुई मन्त्री बाहिरिनु चुनौतीपूर्ण संकेत भएको उल्लेख गरेको छ।
गुरुङमाथि सम्पत्ति विवरण, सेयर लगानी तथा विवादित व्यवसायीसँग सम्बन्ध रहेको आरोप लागेपछि उनले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए।
यस घटनाले नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै सरकारको छवि र स्थायित्वबारे चासो बढाएको विश्लेषण गरिएको छ।








