२ असार, काठमाडौं। युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफ्नो १०० दिनको कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्।
मन्त्री श्रेष्ठले मन्त्री पदमा नियुक्त भएपछि कीर्तिपुर क्रिकेट मैदानमा डिजिटल स्कोर बोर्ड स्थापना गर्ने सम्झौता भएको र फ्लड लाइट खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। साथै, मूलपानीस्थित क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको र दशरथ रंगशालाको मर्मत कार्य सम्पन्न भएको छ।
१० औं राष्ट्रिय खेलकुद आयोजना हुने सुर्खेतमा पूर्वाधार निर्माणलाई तिब्रता दिएको, राष्ट्रिय खेलकुद परिषद र राष्ट्रिय खेल संघहरुको वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको पनि मन्त्री श्रेष्ठले बताए।
उनका अनुसार, मन्त्री पदमा बसेपछि ४४ वटा राष्ट्रिय खेलकुद प्रतियोगिता र ११ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता सम्पन्न भएका छन्।
मन्त्री श्रेष्ठको प्रगति विवरणमा नेपाल टी–२० विश्वकपमा सहभागी भएको उल्लेख छ। मिसन २०२६ अन्तर्गत १० खेलका खेलाडीलाई विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ।
कतारका अमिरको नेपाल भ्रमणका क्रममा युवा तथा खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको, नेपाल स्काउटको जग्गा संरक्षण र नियमसंगत उपयोग गर्न गृह मन्त्रालयको सहयोगमा शिलबन्दी गरिएको, तथा विद्यालयको पाठ्यक्रममा खेलकुद विषय समावेश गर्न शिक्षा मन्त्रालयलाई अनुरोध गरिएको छ।
यस अवधिमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत एक हजार ४९ जनालाई कर्जा लगानी तथा स्वरोजगार सिर्जना गरिएको र एक हजार ४०१ जनाका लागि रोजगारी सिर्जना गरिएको मन्त्री श्रेष्ठले बताए।
१०० दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा आइतबार मन्त्री श्रेष्ठले सरकारले घोषणा गरेको पुरस्कार रकम खेलाडीलाई वितरण गरेका छन्। १९ औं एसियन गेम्समा पदक विजेता एरिका गुरुङ, महिला कबड्डी टिम, चौथो पारा एसियन गेम्समा पदक विजेता पलेसा गोवद्र्धन, र विश्वकप छनोट भएको नेपालको पुरुष क्रिकेट टिमलाई नगदसहित सम्मान गरिएको छ।








