वीरगंज महानगरपालिका–१४ बहुअरीकी ३५ वर्षीया महिमा खातुनको हत्या घटनाका आरोपित ४७ वर्षीय पति इजहारुल अन्सारी कात्तिक १३ गते गिरफ्तार भएका छन् ।
घरायसी विवादको क्रममा धारिलो हतियारले छाती तथा पेटमा प्रहार गरी कान्छि पत्नीको हत्या गरेको आरोपमा अन्सारीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिनु भयो । उहाँका अनुसार अन्सारीले आफ्नै कान्छी पत्नीलाई कात्तिक ४ गते राति ८ः३० बजेको समयमा घरायसी विवादका कारण कुटपिट गर्नुको साथै छुरा प्रहार गरी घाइते बनाएका थिए ।
गम्भीर घाईते भएकी महिमाको उपचारको क्रममा कात्तिक ५ गते बिहान १०ः३० बजे वीरगंजस्थित वीरगंज हेल्थ केयर अस्पतालमा मृत्यु भएको थियो । मृतकको शवको पोष्टमार्टम कात्तिक ६ गते वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको थियो । घटना भएकै दिन हत्यामा संलग्न इजहारुलकी ३८ वर्षीया जेठी पत्नी नुरजहान खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, छुरा प्रहार गर्ने इजहारुल फरार भएका थिए ।
पीडित पक्षले कात्तिक ५ गते मृतकका पति, ६५ वर्षीय ससुरा फजल करिम मियाँ, ६३ वर्षीया सासू सरिफन खातुन र सौता नुरजहान विरुद्ध ज्यान मार्ने सम्बन्धि उजरी दिएको थियो । घटनामा संलग्न मृतकका ससुरा र सासू हालसम्म फरार नै रहेको प्रहरीले जनाएको छ ।







