१९४७ अगस्त १५ मै गान्धीजी अब कांग्रेस बिघटन गरौं । कांग्रेस मुक्तिको निमित्त निर्माण गरिएको हो, सरकार बनाउन चलाउनको निमित्त होइन भन्नु भएको थियो, आँफू अब कांग्रेसमा नरहेको घोषणा गर्नु भयो । खान अब्दुल गफ्फार खां ,बिनोबा भाबे जस्ता स्वतन्त्रताका मुर्धन्य सेनानीहरु राजनीति छाडेर सामाजिक न्याय र जागरणका आन्दोलनमा लागे । जय प्रकास नारायण युवा पनि हुनुहुन्थ्यो, नेहरुको स्वतन्त्रता आन्दोलनको ब्याजमा सत्ताभोगको लिप्सा अल्लि ढिलो बुझ्नु भयो, बुझेपछि कांग्रेस छाडेर बिनोबाको भूदान आन्दोलनमा सरिक हुनु भयो ।
गान्धीजीले बुझ्नु भएको थियो, युरोपको बिशिष्ट अबस्थामा प्रयोग भएर सफल असफल भएका बादहरु, मोडलहरु दक्षिण एशियाको आफ्नै बिशिष्टतामा कुनै अर्थ छैन । हाम्रै भूगोल संस्कार संस्कृति मनोबिज्ञान नागरिक चेतना र अर्थतन्त्र यावतसँग तादाम्यता राख्ने नितान्त मौलिक चरित्र र बिशिष्ट ब्यबस्थाले मात्र हाम्रो अबस्था परिबर्तन गर्न सक्छ ।
एकचोटी डा तुलसी गिरी भारत गएको बेला जय प्रकाशनारायणले आंफूले लेखेको ‘निर्दलीय पञ्चायती राज’, सायद यस्तै नामको पुस्तकको पाण्डुलिपी जेलमा बसेका मित्र बीपीलाइ पढ्न र टिप्पणी सहित फिर्तागर्न अनुरोध गरेर पठाएछन् । तर उनले त्यो पाण्डुलिपी बीपीलाई नदिई राजा महेन्द्रलाई पढ्न दिएछन् । महेन्द्रले पाण्डुलिपी फिर्ता त गरेनछन् तर त्यस पाण्डुलिपीको ‘महेन्द्रिकरण’ गरेर निर्दलीय पञ्चायती ब्यबस्थाको रुपमा दुनियाभर लोकतन्त्रका हिमायतीहरुलाइ फिर्ता गरेछन् ।
उक्त पुस्तक मैले बहुत मुस्किलले दिल्लीको दरियागंज सडक पुस्तक हाट बजारमा टुटेफुटेको हालातमा फेला पारें । मलाइ कस्तुरीको बिना पाए जस्तै खुसी भएको पसलेले मेसो पाए पछी पांच रुपियामा बेच्न राखेको पुस्तक पचास ठटाइ हाल्यो, लिखतमा मुल्य भन्ने २०० थियो । त्यो किताब मिहीनसंग पढे पछि मलाइ पनि दक्षिण एसियाको चेतना सामर्थ्य र मनोबिज्ञानसँग तादाम्य राख्न सक्ने राजनैतिक ब्यबस्थाको गंभिर ढंगबाट बुझ्न बाटो फराकिलो भए जस्तो भयो । जब जब म यो अब्यबस्थाबाट दिग्भ्रमित हुन्छु त्यो पुस्तक खोज्न दराजमा हातहरु सल्बलाउंछन।
जनताले त्यही महेन्द्रिकरण गरिएको ब्यबस्थाका तिस बर्षका हामीले रट्ने गरेका कालरात्रीलाई अहिलेका ३३ बर्षीय संसारकै उच्चतम संबिधान र लोकतन्त्रका रामराज्यसँग तुलना गर्न थालेका छन । यसै भनिरहंदा प्रतिगामी भनेर दण्डित भइन्छ कि भनेर लुकेर भन्नु पर्ने अबस्थाबाट आज स्वयम् लोकतन्त्रका उद्धारक भनिने नेता समेत भित्र भित्रै हिजोकै कालरात्री झलमल्ल नभएपनि जुनको उज्यालो त थियो भन्न थालेका छन् ।
आज संसारकै सर्बाधिक शक्तिशाली सोभियत गणतन्त्रको नागरिक भएर सुतेको नागरिक बिहान उठदा जर्जिया युक्रेन अजरबैन ईत्यादिको नागरिक भएर उठेको नियतिको नजिकै अर्थात डिलैमा हामी पुगेका छौं । यो ब्यबस्था र अबस्थाले अब नेपाली भएर बांच्न संभब छैन । त्यतिखेर सोचेर अर्थ छैन जतिखेर बच्ने अबसर नै रहंदैन । कि हामी त्यतै जानी जानी लागेका हौं ईमान्दारी साथ भनौं, कि देशलाइ जरैदेखि निर्मम चिरफारको निमित्त तयार हौं। सडकमा बिस्कुन झैं पोखिएका छिरलिएका तिम्रा बादहरुले यो मुलुक अब बचाउंदैन ।








