इजरायलमा गाजा पट्टीबाट व्यापक रकेट हमला र हमास आतंककारीहरूको घुसपैठपछि इजरायली प्रतिरक्षा फौज (आईडीएफ) ले शनिबार युद्धका लागि तयार रहेको घोषणा गरेको दाइम्स अफ इजरायल (टिओआई) ले जनाएको छ।
‘इजरायललाई आईडीएफले युद्धका लागि तयार मुलुकका रूपमा घोषणा गर्दछ,’ इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘इजरायली भूमिमा गाजाबाट व्यापक रकेट प्रहार भएको छ र थुप्रै प्रवेश विन्दुबाट इजरायली भूमिमा आतंककारीहरूले घुसपैठ गरेका छन्।’
आईडीएफले मुलुकका दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दाहरूलाई सुरक्षित अवस्थामा रहन आवश्यक रहेको बताएको छ। यसैबीच आईडीएफले गाजा पट्टीमा उसले जवाफी हमला गरिरहेको बताएको छ।
हमासले गरेको अप्रत्याशित हमलाको झन्डै दुई घण्टापछि आईडीएफले जवाफी हमला गरेको हो। ‘यस आक्रमणको पछाडि हमासको हात रहेको छ र उसले हमलाको परिणाम र जिम्मेवारी बहन गर्नेछ,’ आईडीएफले भनेको छ।
यसैबीच प्रतिरक्षामन्त्री योआभ गालान्टले हमाले अप्रत्याशित आक्रमण गरेपछि रिजर्भमा रहेका सैनिकहरूलाई बोलाउने कदमलाई अनुमति दिएका छन्।








