नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित शर्माले ५ सय ३१ मत प्राप्त गर्दा अध्यक्षमा पराजित मायानाथ अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । निर्वाचित शर्मा एमाले गण्डकीका तदर्थ समितिका अध्यक्ष हुन् ।
प्रदेश कमिटी अध्यक्षमा म्याग्दीका शर्मालाई पार्टी नेता पृथ्वी सुब्बा र लमजुङका अधिकारीलाई अर्का नेता खगराज अधिकारीकाे साथ रहेकाे थियाे । उनीहरु चुनावी मैदानमा प्यानल बनाएर उत्रिका थिए । विजयी सबै पदाधिकारीहरु शर्मा प्यानलका हुन् भने सदस्यहरुकाे भने मिश्रित नतिजा आएकाे छ ।
उपाध्यक्षमा मीनबहादुर गुरुङ निर्वाचित भए । निर्वाचित गुरुङले ५३४ मत प्राप्त गरे भने पराजित बाबुराम विकले ३६२ मत प्राप्त गरे । सचिवमा धनञ्जय दवाडी निर्वाचित भए । बिजयी दवाडीले ५२० मत प्राप्त गर्दा पराजित रश्मि आचार्यले ३७६ मत प्राप्त गरे । उपसचिवमा विजयी दामबहादुर विकले ४९९ मत प्राप्त गर्दा साे पदमा पराजित सन्तोष रावलले ३९७ मत प्राप्त गरे । उपसचिव महिलामा मञ्जु अधिकारी प्यासी बिजयी भईन् । बिजयी अधिकारीले ५३१ मत प्राप्त गर्दा पराजित मीना गुरुङले ३६५ मत प्राप्त गरिन् ।
विहीबार भएको मतदान राती अवेर सकिएपछि मतगणना शुक्रबार विहानसम्म गरिएको थियो । विहीबार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो । अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट नौ सय सात प्रतिनिधिले भाग लिएका थिए।नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास असफल भएपछि मतदानद्वारा नेतृत्वको टुंगो लगाइएकाे हाे। प्रदेश कमिटी सदस्यमा २७ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। अधिवेशनबाट पाँच पदाधिकारीसहित एक सय ६२ सदस्यीय नयाँ कमिटी चयन भएका छन् ।








