वीरेन्द्रनगरस्थित उषा बालबाटिका विद्यालयको छात्रावासमा मृत भेटिएका बालकको घटनाको छानबिन गर्न मानव अधिकार रक्षक सञ्जालले माग गरेको छ ।
कर्णाली प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालका संयोजक पीताम्वर ढकालको अध्यक्षतामा असोज १४ गते बसेको बैठकले वीरेन्द्रनगर नपा–६ सुर्खेतको उषा बालबाटिका विद्यालयको होस्टेलमा रहेका आठ वर्षीय बालकको मृत्यु भएको घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन निर्णय गरेको छ । दैलेख जिल्लाको चामुण्डा विन्द्रासैनी नपा–२ घरभइ उक्त विद्यालयको छात्रावासमा रहेका आठ वर्षीय सलाम पुलामी असोज १२ गते आफू सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
यसैगरी, केही दिन अघि सेफ हाउस कालिकोटमा हिंसा पीडित एक महिलाले आत्महत्या गरेको घटना, सुर्खेतको पञ्चपुरी नगरपालिकामा १३ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार भएको घटना, चिकित्सक कुटपिट जस्ता घटनाले मानव अधिकारको अवस्था चिन्ताजनक भएको बताउँदै मानव अधिकार रक्षक सञ्जालले यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरिएको इन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।
बैठकमा आत्महत्याका विषयमा विद्यालय तथा समुदायमा सचेत गराउनुपर्ने, अभिभावकलाई पनि जानकारी गराउनुपर्र्ने, यातायात कार्यालय लगायतका सरोकारवालालाई बजार क्षेत्रमा मोटरसाइकल लगायत अन्य सवारी साधनहरूको गति नियन्त्रण, जेब्रा क्रसिङ्ग, पुराना गाडी नियन्त्रण गर्ने विषयमा ध्यानाकर्षण गराउनुपर्ने मानव अधिकार रक्षक सञ्जालले योजना बनाएको छ ।
मानव अधिकार रक्षक सञ्जालमा आवद्ध संस्थाको क्षमता अभिबृद्धिका कार्यक्रम गरिनुपर्र्नेे सिएमसीका लक्ष्मण नाथले सुझाव दिनुभयो । जसले गर्दा सञ्जालले एउटा पूर्ण सञ्जालको रुपमा काम गर्न सक्ने उहाँको भनाइ थियो । आत्महत्या न्यूनिकरण र मानोसामाजिक बिषय सबैले बुझ्नुपर्ने बिषय भएको उहाँको जोड थियो । डिसिएका कार्यक्रम व्यवस्थापक सूर्याकुमारी सुनारले सामाजिक संस्थाहरूले घरेलु तथा लैङ्गिक हिंसाका पीडितलाई उचित मनोसामाजिक परामर्श प्रदान गरि कानुनी सल्लाहको लागि अनुभवी कानुन व्यवसायीकोमा पठाउनुपर्ने सुझाव दिनुभयो ।
सञ्जालका संयोजक पीताम्बर ढकालले मानव अधिकारको विषयमा सरकार र जनता दुवै पक्ष उत्तिकै उत्तरदायी हुनुपर्ने भन्दै सुर्खेतको उषा बालबाटिका नीजि विद्यालयको होस्टेलमा आठ वर्षीय बालकको मृत्युको बिषयको अध्ययन गर्न छानबिन समिति गठन गरी सार्वजनिक गर्नुपर्ने मागगर्नु भयो । बाल मानोविज्ञानमा असर नपर्नेगरी यस बिषयलाई टुङ्ग्याउनुपर्ने संयोजक ढकालले बताउनुभयो ।







