चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छेन्दु आइपुगेका छन्। प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु आइपुगेका हुन्।
उनलाई छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङ, विदेश मन्त्रालयको सिचुआन प्रान्तका निर्देशक चाङ ताओ र विदेश मन्त्रालयको एसियाली मामिलासम्बन्धी विभागका प्रमुखले स्वागत गरे। छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री प्रचण्डले आज साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम छ। आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रि भोजको पनि आयोजना गर्नु हुनेछ।
बुधबार चीनको छोङछिङबाट ल्हासा आइपुगेका प्रधानमन्त्री प्रचण्ड बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए। प्रधानमन्त्री प्रचण्डले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए। त्यसपछि उनले बुधबार नै ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गरेका थिए।
प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरू शनिबार छेन्दुबाटै काठमाडौं फर्किने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन्।
उनको भ्रमण दलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव र अन्य सदस्यहरू रहेका छन्।








