कर्मचारी अभावले इलाका प्रशासन कार्यालय नराकोटमा तीन सातादेखि नागरिकता वितरण रोकिएपछि भदौ २६ गते इन्सेक अनलाइनमा एक सातादेखि कार्यालयमा कर्मचारीविहीन, सेवाग्राहीले पाएनन् नागरिकता शीर्षकको समाचार प्रकाशन भएको थियो । लामो समयदेखि नागरिकता वितरण कार्य रोकिएपछि मानव अधिकार रक्षक सञ्जाल, इन्सेक र पत्रकार महासंघ, जुम्ला लगायतले तत्काल कर्मचारी खटाउन असाेज ८ गते ध्यानाकर्षण गरेको हो ।
सरकारले स्थापना गरेको इलाका प्रशासन कार्यालयमा अधिकृत नभएको भन्दै नागरिकता वितरण रोकिएपछि जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत गृहमन्त्रालयको ध्यानाकर्षण गरेको छ । इलाका प्रशासन कार्यालय जुम्लाको सिंजा क्षेत्र हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकालाई केन्द्र बनाई स्थापना गरिएको थियो । २०७३ मङ्सिर महिनादेखि अधिकृत स्तरको कर्मचारी दरबन्दी भए पनि हालसम्म कर्मचारी नपठाइएको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले बताउनु भयो ।
नायब सुब्बा स्तरको कर्मचारीलाई जिम्मेवारी दिइ नागरिकता वितरण गरिदै आएको थियो । उहाँले भन्नु भयो, “विगत तीन सातादेखि नायब सुब्बा सुरत गिरीको काज सकिएसँगै अनेत्र सरुवा भएकाले ईलाका प्रशासनबाट नागरिकता वितरण हुन सकेको छैन । तत्काल कर्मचारी खटाउन माग गरिएको हो ।” सरकारले कर्मचारी नपठाउँदा नागरिकता सदरमुकाममा ल्याएर हस्ताक्षर गर्नुपर्ने अवस्था तत्काल अन्त्य हुनुपर्ने मानव अधिकार रक्षक सञ्जाल जुम्लाका संयोजक राज बहादुर महतले बताउनु भयो । उहाँले भन्नुभयो ‘तीन सातादेखि स्थानीय प्रशासन मार्फत पहल गर्दा पनि हालसम्म पनि कर्मचारी खटाउने विषय कार्यान्वयन हुन नसक्नु दुखद् कुरा हो । ’
कर्मचारी नहुँदा नागरिकले पाएको सास्ती प्रति सम्वेदनशील भए पनि गृहले तत्काल कर्मचारी पठाउन नसक्ने जानकारी दिएकाले समस्या भएको प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताउनु भयो । उहाँले भन्नुभयो, गृहले अधिकृत खटाउन नसक्ने बताएको छ । तत्काल कर्मचारी खटाउन मुस्किल छ । तर कर्मचारी खटाउन पहल गरिएको छ ।