साफ यु-१९ फुटबल च्याम्पियनसिपअन्तर्गत माल्दिभ्स र नेपालबीच जारी खेलमा घरेलु टोली नेपालले पहिलो हाफमा २ गोलको अग्रता बनाएको छ।
सेमिफाइनलमा स्थान बनाउन जित्नै पर्ने दबाबमा रहेको नेपालले पहिलो हाफको अग्रतासँगै खेलमा पकड कायम गरेको हो।
नेपाललाई अग्रता दिलाउने क्रममा १८ औं मिनेटमा प्रशान्त लक्ष्यमनले लङ रेन्जबाट गरेको प्रहार माल्दिभ्सका गोलरक्षक मोहम्मद यमीनले राम्रो जर्ज गर्न नसक्दा पहिलो गोल खान पुगेको थियो।
नेपालको अग्रता दोब्बर बनाउन ३० औं मिनेटमा समिर तामाङले गोल गरेका थिए। उनले आकर्षण रूपमा डिफेन्डर कट गर्दै गरेको प्रहारले जाली चुमेपछि पहिलो हाफमा नेपाल २-० को अग्रता बनाउन सफल भयो।
यद्यपि नेपाल र माल्दिभ्स दुबै टोली ३५ औं मनेटमा १० खेलाडीमा समेटिए।
नेपालका सुजन डंगोल र बंगलादेशका मोहम्मद इयानलाई सिधै रातो कार्ड दिएर मैदानबाट बाहिर पठाइयो। यी दुईबीच हातहालाहाल भएपछि रेफ्रीले रातो कार्ड दिएका हुन्।
नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भएको थियो। माल्दिभ्सले भने पाकिस्तानसँग १-१ गोलको बराबरी खेल्दै एक अंक खोस्न सफल भएको थियो। माल्दिभ्ससँगको बराबरीसँगै पाकिस्तान सेमिफाइनलमा पुग्न सफल भयो।
माल्दिभ्सलाई भने सेमिफाइनल पुग्नका लागि नेपाललाई कम्तिमा बराबरीमा रोक्नु पर्ने छ। पाकिस्तान ४ अंकसहित सेमिफाइनल प्रवेश गर्दा माल्दिभ्सको १ अंक छ। नेपाल अंकविहीन रहेको छ।
समूह ‘बी’मा भारत र भुटान सेमिफाइनल प्रवेश गरिसकेका छन्। समूह विजेता बन्न अन्तिम खेलमा ५:३० मा भुटान र भारत भिड्दै छन्। समूह ‘बी’ बाट बंगलादेश भुटानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।








