प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका महामहिम राष्ट्रपति सी चीनफिङबीच भेटवार्ता भएको छ। चीनको साताव्यापी भ्रमणका लागि शनिवार चीनको हाङ्जाओ आइपुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा खुल्ला र स्पष्टरुपमा छलफल गरेका हुन्।
वार्तामा दुवै नेताबीच यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र सम्वृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति भएको छ। यस्तै दुवै नेताबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति बताइएको छ। यस्तैगरी राष्ट्रपति सिले वार्तामा नेपालको आर्थिक, सामाजिक विकासमा खुल्ला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिएका छन्।
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान र प्रतिनिधि मण्डलसँग सामूहिकरुपमा समेत गरी एक घण्टा लामो वार्तामा राष्ट्रपति सी जिनफिङले शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठुलो र सानो देशको कुनै भेदविना समान सहअस्तित्वका साथ अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सिले अघि सारेका नवीनतम अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्त्वपूर्ण रहेको बताए। उनले नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता व्यवहारबाटै पुष्टि गरेको बताउँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अंगिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रष्ट पारे।
प्रधानमन्त्री प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकेको स्मरण गरे। उनले चीनको विकासले एसिया क्षेत्रकै विकासमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे।
राष्ट्रपति सिले प्रधानमन्त्री प्रचण्डसँगका यसअघिका भेटहरूको चर्चा गर्दै आफू राष्ट्रपति हुनासाथ दक्षिण एशियावाट पहिलो नेताकारुपमा चीनमा स्वागत गरेको स्मरण गरे। उनले यस किसिमका छलफलले दुई देशबीचका सम्बन्ध र विश्वासलाई अझ सुदृढ गर्ने बताए।