टिकापुर घटना मुद्दा खेपिरहेका ३ जना कैदी बन्दी कैलाली कारागारबाट रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका ३ जना रिहा भएका हुन् ।
त्यस्तै सोही घटनामा माफी मिनाहा पाएका पोखरास्थित बाल सुधारगृहमा रहेका जानकी गाउँपालिका–७ लट्कनियाका श्रवण चौधरी पनि रिहा हुने भएका छन् । उनलाई आजै पोखराबाट काठमाडौँ र काठमाडौँबाट धनगढी लगिने बताइएको छ ।रिहा हुनेमा टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रहेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिए । उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए ।
रिहा भएकाहरूको कारागारभित्रै अबिर जात्रासहित भव्य स्वागत गरिएको छ । नागरिक उन्मुक्तिका संरक्षण रेशमलाल चौधरी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ, संघीय सांसद गंगाराम चौधरी, अरुण चौधरीका साथै प्रदेश सरकारका मन्त्री, सांसदलगायतले स्वागत गरेका थिए ।