लुम्बिनी प्रदेशमा मानव अधिकार ज्यादति र अपराधिक घटनाका प्रत्येक वर्ष बढ्दै गएका छन् । जसले मानव अधिकार संस्कृतिको विकासमा चुनौती थपेको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा तीन वर्षको अवधिमा १९ हजार १ सय ९४ मुद्दा दर्ता भएको प्रहरी तथ्याङ्क रहेको छ । प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा कर्तव्य ज्यान, आत्महत्या, आत्महत्या दुरूत्साहन, महिला तथा बालबालिका माथि हुने यौनजन्य हिंसा र घरेलु हिंसा, संगठित अपराध, सार्बजनिक अपराध, र सवारी जन्य अपराधलगायत गरी ५ हजार ८ सय ३५ मुद्दा दर्ता भएका थिए ।
त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ६ हजार ३ सय ६२ र २०७९/८० मा ६ हजार ९ सय ९७ मुद्दा दर्ता भएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी उमेशराज जोशीले प्रत्येक वर्ष अपराधसँग सम्बन्धी मुद्दाको सङ्ख्या बढ्दै गएको बताउनु भयो ।
डिआइजी जोशीले इन्सेक लगायतका मानव अधिकारको क्षेत्रमा काम गर्ने सङ्घ संस्था, प्रहरी प्रशासनको सक्रियताले पीडितहरू उजुरी दिन आउने गरेकोले घटना दर्ताको सङ्ख्या बढेको हुन सक्ने बताउनु भयो ।
डिआईजी जोशीले अपराधहरू न्यूनिकरणका लागि सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत विभिन्न जनचेतना मूलक कार्यक्रमहरू पनि गर्दै आएको बताउनु भयो । प्रत्येक मानिसमा अपराध गर्नु हुँदैन भन्ने मानसिकताको विकास गराउन सकेमा अपराधका घटनाहरूमा घटने तर्क राख्दै जोशीले सरकारी तथा गैर सरकारी संस्थाहरू र नीजि क्षेत्र सबैको सहयोगले मात्र मानव अधिकार संस्कृतिमा बिकास हुने बताउनु भयो ।
लुम्बिनी प्रदेश प्रहरीको तथ्याङ्क अनुसार प्रदेशका तीन वर्षको अवधिमा सबै भन्दा धेरै ३ हजार ८ सय ४६ मुद्दा रुपन्देही र सबै भन्दा कम रुकुम पूर्वमा १ सय ९४ मुद्दा दर्ता भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरु बढेको देखिन्छ जसमा सन् २०१८ मा १ हजार ७ सय ५१ घटनाहरु घटेको देखिन्छ । त्यस्तै सन् २०१९ मा १ हजार १ सय ३६ ओटा, सन् २०२० मा १ हजार ६ सय तीन घटना, २०२१ मा १ हजार ३ सय ८३ ओटा, २०२२ मा १ हजार ७ सय ८६ ओटा र २०२३ मा २ हजार ८४ ओटा घटनाहरू भएको तथ्याङ्क रहेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले रुपन्देही जिल्ला जनसंख्याको हिसावले देशकै तेस्रो ठूलो जनसङ्ख्या भएको जिल्ला भएकोले शहरीकरण बढदै जाँदा सामाजिक हिंसाका घटनाहरू र पछिल्ला दिनहरुमा बैकिंङ्ग कसुर र आर्थिक गतिविधिसँग सम्बन्धित घटनाहरू बढेको बताउनु भयो । पाण्डेले आत्महत्या र आत्महत्या दुरुत्साहन जस्ता घटनाहरू बैदेशिक रोजगारीको प्रभाव, आर्थिक मामिला जस्ता कारणले घटेको बताउनु भयो ।
राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका निमित्त प्रमुख दिपक ठाकुरले आर्थिक संकुचन, रोजगारी गुम्ने भएका कारण अपराधका घटनाहरू बढेको बताउनु भयो । उहाँले “चोरी गर्नु कानुन विपरितको कार्य हो भने कानुन विपरितको कार्य गर्नु भनेको मानव अधिकार विपरितको कार्य हो भन्दै” मानव अधिकार संंस्कृतिको विकासका लागि यस्ता खालका अपराध र अपराधजन्य घटनाहरू चुनौतीको रुपमा आएको बताउनु भयो । ठाकुरले मानव अधिकारको संस्कृतिको विकासका लागि विद्यालय पाठयक्रममा नैतिक शिक्षालाई जोड दिंदै शिक्षा प्रणालीलाई सामाजिक परिवेश अनुसारको बनाउनु पर्ने बताउनु भयो ।
इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले लुम्बिनी प्रदेशमा मानव अधिकार ज्यादति र लैङ्गिक हिंसाका घटना बढस् हुने गरेको बताउदै छिटो छरितो न्याय सम्पादन नहुँनु, पीडितमैत्री न्याय सम्पादन गर्न नसक्नु, पीडितको न्यायमा पहुँच नपुग्ने र न्यायकालागि प्रहरीमा जाने पीडितले राजनीतिक दवावका कारण मुद्दा दर्ता गर्न नसक्दा पीडकको मनोबल बढेर यस्ता घटनाहरू बढेको बताउनु भयो । संयोजक महतले प्रहरीमा जाने मुद्दालाई प्रभावकारीरुपमा अनुसन्धान नबढाइनु र आरोपितलाई कानुनी दायरामा ल्याउन नसक्दा मानव अधिकार ज्यादति र अपराधका घटनाहरू बढेको बताउनु भयो ।