पाँच वर्षदेखि बालबालिकाहरु चिसो भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएकाे घटना सार्वजनिक भएकाे छ । जिल्लाकाे सर्केगाड गाउँपालिका–१ स्थित छत्रपाल बाल विकास केन्द्र तुम्चका बालबालिकाहरु पाँच वर्षदेखि चिसो भुइँमा पठनपाठन गर्न बाध्य भएका छन् ।
केन्द्रमा नत कार्पेट बिछ्याइएको छ नत काठको फल्याग नै छ । चिसो भुइँमा राखेर बालबालिकालाई पढाउने नाममा बालबालिकाले सास्ती खेप्नुपरेको अभिभावक रतन रावतले गुनासो गर्नु भएको हो ।
बालविकास केन्द्रमा पाँच वर्षदेखि यसरी नै पठनपाठन भइरहेको अर्का स्थानीय अभिभावक सिंहबहादुर रावतले गुनासो गर्नुभयो ।
बालविकास केन्द्रमा २८ जना बालबालिका रहेको र पठनपाठनका नाममा एउटा कोठा मात्रै छ । त्यस कोठाको भित्ताको छेउतिर क, ख र ए, बि, सी लेखिएको पम्प्लेट टाँसिएको बाहेक अन्य कुनै सामगी्र नभएको बाल विकास केन्द्रकी शिक्षिका सहदेवी शाही मल्लले बताउनु भयो ।
पहिला एउटा कार्पेट थियो त्यो पनि च्यातिएर फालियो । अहिले भुइँमा बसेर बालबालिका पढ्ने गरेका छन् । गाउँपालिकालाई पटक–पटक खबर गर्दा पनि वास्ता नगरेको शिक्षिका शाही मल्ल भनाइ छ । दिवाखाजासमेत नदिने गरेको उहाँले गुनासो गर्नुभयो ।
सो विषयमा सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्र सिंह कार्कीलाई बुझ्दा स्थानीय र शिक्षकहरूले हालसम्म उक्त बाल विकास केन्द्रका विषयमा कुनै पनि जानकारी नभएको र इन्सेकले जानकारी दिएको आधारमा एक हप्ता भित्र सो विद्यालयमा पुगेर के कस्तो समस्या छ त्यसको समाधान गर्ने बताउनुभयो ।