सोरु गाउँपालिका—४ माथिलिब्रु गाउँमा डेढ सातादेखि भाइरल ज्वरो फैलिएको छ । सोही गाउँका ४९ वर्षीय धनसिह नेपालीले भन्नु भयो ‘एक सातादेखि ज्वरोले बिरामी भएको छु । कडा ज्वरो आउने, टाउको दुख्ने, रिगंटा लाग्ने, घाटी दुख्ने, बान्ता हुने गरेको छ ।’
उहाँले भन्नुभयो ‘गाउँका स्वास्थ्यचौकीमा औषधि नभएपछि घरेलु उपचारको भरमा उपचार गरिरहेको छु । चाहिएको बेला न गाउँमा स्वास्थ्यकर्मी हुन्छन् न औषधि नै ।’ ज्वरो आउने, टाउको दुख्ने र घाँटी दुख्नेलगायत समस्याबाट घरमै सुतेको एक साता बित्यो । पहिलोचोटी ज्वरोले ओछ्यानमा ढलायो । खानामा पटक्कै रुची छैन, ओछ्यानबाट उठ्न गाह्रो भएको सोही ठाँउकी ४७ वर्षीया बिर्सना शाहीले बताउनुभयो ।
अधिकांश बस्तीमा ज्वरोका बिरामी बढेका छन् । ज्वरो, मौसमी रुघाखोकीलगायतका कारण रावलबाडा, माथिलिब्रु, तलिलिब्रु, भादगाउँ, खातीकुयानी, फोतु, गिलिबिलिलगायत गाउँमा घरघरै बिरामी परेका छन् । गाउँमा बालकदेखि ज्येष्ठ नागरिक सम्मलाई ज्वरोले सताएको स्थानीय रनवीर शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयोे ‘बिरामी नभएका घरै छैनन् । एउटै घरमा तीन जनासम्म बिरामी परेका छन् । तर गाउँको स्वास्थ्यचौकीमा औषधि नहुँदा उपचारमा समस्या छ ।’
घरैपिच्छे बिरामी बढेपछि बिरामीको चाप ह्वात्तै बढेकोले जिवनजल, सिटामोल, मेट्रोलगायतका औषधि अभाव भएको फोतु स्वास्थ्यचौकीकी अनमी डकार्मा बोगटीले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्यचौकीमा औषधि नभएपछि अधिकांश बिरामीलाई चेकजाँच गरेर हुम्लाको तुम्च र बालुकुनामा रहेका निजी मेडिकलबाट औषधि ल्याउनुपर्ने बाध्यता छ ।
उहाँले भन्नुभयो ‘अब त सिटामोलको पनि अभाव भयो । बिरामीलाई औषधि ल्याउन कर्णालीपारिको हुम्लाका मेडिकलमा पठाउनुपर्ने बाध्यता छ ।’ गुरुबर्मास्थित कालिका माध्यमिक विद्यालय र आधारभूत विद्यालय सर्किदेउका अधिकांश विद्यार्थीमा पनि ज्वरो र रुघाखोकी देखिएको अनमी बोगटीले जानकारी दिनुभयो ।
विद्यार्थीहरु धमाधम बिरामी भएपछि पठनपाठन प्रभावित हुन थालेको कालिका माविका प्रधानाध्यापक अंगबहादुर बुढाले बताउनु भयो । उहाँका अनुसार झण्ढै अढाई सय विद्यार्थीमध्ये झण्डै ५० जनामा ज्वरो देखिएको छ । कक्षाकोठामा पढ्दापढ्दै विद्यार्थीलाई ज्वरो आउन थालेपछि घर पठाउने गरिरहेको बताउनुभयो ।
गाउँगाउँमा ज्वरोका बिरामी बढेपछि सोरु गाउँपालिकाले स्वास्थ्यकर्मीलाई घरघरमा उपचारका लागि खटाएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट पनि झण्डै आधा दर्जन स्वास्थ्यकर्मी गाउँमा खटिएका छन् । स्वास्थ्यकर्मी औषधि उपकरणसहित माथिलिब्रु, तलिलिब्रु, रावलबाडालगायत गाउँमा पुगेका छन् । अहिले बिरामीहरुको नमुना संकलन गरिरहेका छन् । डेढ सय बिरामीको स्वास्थ्य परीक्षण गरिएको र औषधि दिइएको सोरु गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रित्र धामीले बताउनु भयो ।
बिरामीको नमुना संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको छ । अहिले मौसमी ज्वरो र रुघाखोकीको लक्षणजस्तो देखिएको उहाँले बताउनु भयो। उहाँका अनुसार ‘गाउँमा पुगेको स्वास्थ्यकर्मीको टोलीसँग स्थानीयले औषधि माग्न हानथाप गर्ने गरेका छन् । सबैतिर बिरामी बढेपछि स्वास्थ्य चौकीहरुमा औषधिको चरम अभाव भएकाे छ ।’