तमु प्ये ल्हु संघ केन्द्रीय समितिको ३१ औं वार्षिक साधारणसभा तथा छैटौं महाधिवेशन आगामी असोज २२ र २३ गते संघको केन्द्रीय सभाहल पोखरामा हुने भएको छ । भदौ २५ गते सोमवार पोखरामा बसेको केन्द्रीय समिति लगायत प्रदेश, जिल्ला, महिला र केन्द्रीय भातृ संगठनहरुको संयुक्त बैठकद्वारा उक्त महाधिवेशन बारे निर्णय गरिएको हो ।
तमु प्ये ल्हु संघ केन्द्रीय समितिको सर्वोच्च अंग मानिने उक्त महाधिवेशनमा को कसले भाग लिन पाउँछन् त भन्ने जिज्ञासामा केन्द्रीय संस्थापकहरु, केन्द्रीय परम संरक्षकहरु, संरक्षक सदस्यहरु, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु एवं सदस्यहरू, सदस्यता अद्यावधिक गरेका शाखासँग आवद्ध प्रदेश समितिबाट ५ जना प्रतिनिधि जसमध्ये (१ जना महिला अनिवार्य) यसैगरी प्रत्येक जिल्ला, प्रवास शाखा र केन्द्रीय भातृ संगठनहरुबाट ३/३ जना प्रतिनिधि (१ जना महिला अनिवार्य) र १/१ जना पर्यवेक्षक सहभागी बन्न पाउने कुरा केन्द्रीय महासचिव हर्क बहादुर योज तमुले जानकारी गराएको छ ।
यसैगरी सल्लाहकार सदस्यहरु, पूर्व पदाधिकारीहरु, तमु जातिको उत्थानका लागि विशेष योगदान पुर्याएका व्यक्तित्वहरु मध्येबाट केन्द्रीय समितिले महाधिवेशनको प्रतिनिधि संख्याको १०% प्रतिशत प्रतिनिधिमा मनोनीत गर्न पाउने प्रावधान रहेको पनि बताए । यसको साथै विधान अनुसार संघबाट निलम्बित वा निष्कासित व्यक्ति वा सदस्यले महाधिवेशनमा सहभागी हुन नपाउने कुरा जानकारी गराए ।
यसरी असोज २२ र २३ गते पोखरामा हुने तमु प्ये ल्हु संघ केन्द्रीय समितिको ३१औं वार्षिक साधारणसभा तथा छैटौं महाधिवेशनलाई भब्य र सभ्य रुपमा सफल पार्न केन्द्रीय समितिले जिम्मेवारी बाँडफाँड पनि गरिएको छ जसानुसार निर्वाचन मण्डलको संयोजकमा अधिवक्ता कर्ण बहादुर गुरुङ, खाना व्यवस्थापनमा केन्द्रीय कोषाध्यक्ष ओम बहादुर थिम्जे तमु, मञ्च व्यवस्थापनमा केन्द्रीय महिला समिति, साँस्कृतिक कार्यक्रममा स्वागत नृत्य केन्द्रीय युवा समिति र अन्य नृत्य प्रस्तुतिका लागि कास्की जिल्ला समिति र जिल्ला महिला समिति कास्की रहेका छन् । यसको अलावा थप मनोरञ्जनका लागि अहिलेको लोकप्रिय दोहोरी जोडी गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको विशेष प्रस्तुति रहने कुरा महासचिव हर्क योज तमुले बताएको छ ।