१३ वर्षीया छात्राको आत्महत्याको घटनापछि रुकुम पश्चिम तनावग्रस्त बनेको छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका९१ पुरानो बजारमा रहेको भ्यालि पब्लिक बोर्डिङमा ८ कक्षामा अध्ययरनरत् १३ वर्षीया सृष्टि गौतमले शुक्रबार आत्महत्या गरेकी थिइन् ।
आत्महत्या दुरुत्साहनको आरोपमा उक्त स्कुलका प्रिन्सिपल पुष्पा लामिछाने शाह र सञ्चालक युडेन भोटिया भण्डारीलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक इश्वर देव गिरीले लोकपथलाई जानकारी दिए ।
‘छात्राले आत्महत्या गरेपछि परिवारले घटनामा आत्महत्या दुरुत्साहन भएको भन्दै उजुरी दिएपछि हामीले अनुसन्धान गर्न स्कुलका प्रिन्सिपल र सञ्चालकलाई नियन्त्रणमा लिएका छौँ । थप अनुसन्धान गरिरहेका छौँ ।’ प्रहरी निरीक्षक गिरीले लोकपथसँग भने ।
विद्यालयमा प्रिन्सिपल शाह र सञ्चालक भण्डारीसहितले छोरीमाथि कुटपिट गरेपछि घर गएर विद्यालयको पोसाक लगाएकै अवस्थामा गौतमले झुण्डिएर आत्महत्या गरेकी थिइन् ।