गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कोशिश नेपाल, ओरेक र टिपिओ नेपाल लगायतका संघ संस्थाहरूको सहकार्यमा आयोजित विश्व आत्महत्या रोकथाम दिवसमा ‘आशा जगाऔं जीवन बचाऔं’ भन्ने मूल नाराकासाथ पोखरामा २०८० भदौ २४ गते प्रभातफेरी कार्यक्रम गरि सुरु मनाइएको छ ।
सभागृहबाट निकालिएको प्रभातफेरी जिल्ला समन्वय समिति कास्कीको हलमा गएर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभाकी उपसभामुख बिनाकुमारी थापाले आत्महत्या समस्याको समाधान नभएको बताउनुभयो । उहाँले आत्महत्या अशिक्षा, निराशा, जनचेतनाको कमी तथा बेरोजगारीको कारण हुनेगरेको सुनाउनुभयो । आत्महत्या गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएकाले समुदायमा सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाई थियो । ‘हरेक व्यक्ति अप्ठ्याराेमा हुन सक्छ । त्यो अप्ठ्यारोलाई परिवार र नजिकका मान्छेले बुझ्नु आवश्यक छ,’ उपसभामुख थापा भन्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख जमुना पौडेलले आत्महत्या घटना न्यूनीकरण गर्नका लागि आध्यात्मिक र अध्ययनशील हुन आवश्यक रहेको बताउनुभयो । जीवनमा दुखमा पनि खुसी हुन सके तथा मानसिक स्वास्थ्यमा ध्यान दिनसके आत्महत्याको रोकथाम गर्न सकिने उहाँको तर्क थियो ।
वरिष्ठ मनोचिकित्सक प्राध्यापक डाक्टर जयबहादुर खत्रीले आफूँले आफैंलाई माया गर्न सिक्नुपर्ने र मानसिक स्वास्थ्यलाई गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो । उहाँले कुनै पनि व्यक्तिलाई मानसिक बिरामी भएको लक्षण देखिए तुरुन्त अस्पताल पुर्याउन पनि आग्रह गर्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष निर्मल लामिछानेले दिनप्रतिदिन आत्महत्याका घटना बढ्दै गर्दा आउँदो दिनको अवस्था कस्तो हुने हो भन्दै चिन्त्ता व्यक्त गर्नुभयो । उहाँले आफू मनोचिकित्सक भएर काम गरेको लामो समय हुँदा प्रत्येक वर्ष आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएकाले त्यो डाटा हेर्न छाडेको बताउनुभयो । ‘डाटा हे¥यो डर लाग्छ अवस्था भयावह छ । तर, अवस्था सुधारनुपर्छ । आत्महत्या नै समस्याको समाधान होइन् भन्ने कुरा सबैलाई बुझाउनुपर्छ’ उहाँले बताउनुभयो ।