जिल्ला अदालतमा मुद्दा फैसला भएको लामो समय भइसक्दा पनि धादिङ कारागारका धैरै कैदीले हालसम्म कैदी पुर्जी नपाएपछि अन्यौलमा परेका छन् ।
जिल्ला अदालतले मुद्दाको फैसला गरेपछि अपराधमा संलग्न कैदीलाई कैदको समय उल्लेख गरी कैदी पुर्जी दिनुपर्ने कानुनी प्रावधान भए पनि ४२ जना पुरुष कैदीले कैदी पुर्जी नपाएको गुनासो गर्दै वकिलहरू समक्ष जानकारी गराएको धादिङ वार एसोसिएशनका अध्यक्ष विश्वराज अधिकारीले इन्सेकलाई जानकारी दिनुभयो । जिल्ला अदालतले ०७८ माघ २३ गते दुई वर्ष ६ महिना कैद बस्ने गरी मुद्दा फैसला भएका लागु औषध मुद्दाका अर्जुन यादवले कैदी पुर्जी नपाएपछि आफू कहिले छुट्ने भन्ने अन्यौल भएकोले वकिलहरू समक्ष गुनासो गर्नुभएको छ । २०७७ सालमा फैसला भएका मुद्दाको समेत कैदी पुर्जी दिइएको छैन । कर्तव्य ज्यान मुद्दामा ०७७ चैत ५ गते मुद्दा फैसला भएका रणबहादुर थापाले समेत कैदी पुर्जी पाउनुभएको छैन ।
वार एसोसिएशनलाई दिइएको जानकारी अनुसार २०७७ सालमा चार जना, ०७८ मा फैसला भएका ११ जना, ०७९ मा फैसला भएका १८ जनासहित ४२ जनाको कैदी पुर्जी नपाएकोले मुद्दा अन्यौल रहेको छ । फैसला भएको मुद्दाको पूर्णपाठ आएपछि कैदी पुर्जी दिने गरिएकोमा अहिले भने धेरै मुद्दामा कैद गरिएकाहरूको कैदी पर्जीबाट वञ्चित भएका छन् । बलात्कार मुद्दाका १३ जना, कर्तव्य ज्यान मुद्दाका आठ जना गरी ४२ जनाले कैदी पुर्जी उपलब्ध गराउन जिल्ला अदालतमा कैदीहरूले माग गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।
धेरै समय भइसक्दा पनि कैदी पुर्जी उपलब्ध नगराएको सम्बन्धमा जिल्ला अदालतका श्रेस्तेदार भण्डारीले आफू भर्खर आए पनि कैदी पुर्जीसम्बन्धी सूचना जानकारी आएको र केहीको काम समेत भएको बताउनु भयो । कर्मचारी कम हुँदा समयमै फैसला तयार नहुने समस्याका कारण कैदी पुर्जीमा समस्या आएको देखिन्छ ।