सोनमा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीहरूको माग गाउँपालिकाले भदौ २३ गते सम्बोधन गरेको छ ।
शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरूले भदौ १९ गतेदेखि विरोध प्रदर्शन तथा आन्दोलन गर्नुको साथै भदौ २३ गाउँपालिकामा धर्नामा समेत बसेका थिए । “शिक्षक सरुवा हुनु भएन, राम्रो पढाइ दे, खानेपानीको व्यवस्था गर, शौचालयको सरसफाई गर” लगायतका मूल नारा सहित विद्यार्थीहरूले प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शनले उग्र रुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयले प्रदर्शनकारी विद्यार्थी तथा अभिभावकहरूलाई गिरफ्तार गरेको थियो । साथै आन्दोलनको क्रममा प्रदर्शनकारी विद्यार्थीहरू घाइते समेत भएका थिए । घाइतेहरूलाई उचित क्षतिपूर्ति, गिरफ्तार भएका विद्यार्थी तथा अभिभावकहरूको रिहाइ र शिक्षक सरुवा नगर्न माग सहित विद्यार्थीहरू भदौ २३ गते धर्नामा बसेका थिए ।
यसै सन्दर्भमा भदौ २३ गते नेपाल शिक्षक महासंघ सोनमा गाउँपालिकाद्वारा ०८० भदौ २१ गते प्रकाशित गरेको विज्ञप्ति तथा विद्यार्थीहरूको मागको सम्बन्धमा सोनमा गाउँपालिका र नेपाल शिक्षक महासंघ सोनमा बीच ६ बुँदे सहमति भएको गाउँपालिकाका शिक्षा संयोजक राजकुमार साहले जानकारी दिनु भयो । संयोजक साहले–“गिरफ्तार भएका सम्पूर्ण विद्यार्थी र अभिभावकलाई रिहा गर्ने र घाइते विद्यार्थीहरूलाई क्षतिपूर्ति गाउँपालिकाले दिने” बारे जानकारी दिनुको साथै भदौ २४ गतेदेखि निरन्तर रुपमा कक्षा सञ्चालन हुने समेत उहाँले बताउनु भयो ।